मुस्ताङको साङ्ता मतदान केन्द्र जोड्ने सडकमा हिउँ पन्छ्याउने काम सुरु, गाउँमा ३९ मतदाता
मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि वारागुङ मुक्तिक्षेत्र–५ साङ्ता मतदान केन्द्र जाने (मुस्ताङ–डोल्पा) सडकको हिउँ मङ्गलबारदेखि पन्छ्याउन सुरु गरिएको छ ।
हिमपातका कारण कात्तिक १० गतेदेखि पूर्णरुपमा अवरुद्ध सडकमा सवारी सञ्चालनका लागि हिउँ पन्छ्याउन सुरु गरिएको वारागुङ मुक्तिक्षेत्र–५ का वडाध्यक्ष सुरेन्द्र गुरुङले उल्लेख गरे ।
मुस्ताङ सदरमुकाम जोमसोमदेखि उत्तर/पश्चिमतर्फ समुन्द्री सतहको चार हजार ५ सय मिटरको उचाइमा अवस्थित साङ्ता गाउँ मुस्ताङको सबै भन्दापछि पत्ता लागेको गाउँ हो । यहाँको साङ्ता गाउँमा ३९ जना मतदाता छन् । यही गाउँमा अवस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्रको दूरी जोमसोमबाट करिब ४० किलोमिटर टाढा छ । भौगोलिक रुपले विकट स्थानमा रहेको मुस्ताङको साङ्ता गाउँका नागरिक अहिले गाउँभन्दा बाहिर छन् ।
मुस्ताङ र डोल्पाको सिमाना नजिक रहेको साङ्ता गाउँका नागरिक मङ्सिर अगावै जाडो छल्न गाउँ छोडेर मुस्ताङको जोमसोम आसपासका गाउँहरुमा आफन्तहरुको घरमा बसेका छन् । केही भने हिउँदयामको छेकोमा जाडो छल्न पोखरा–काठमाडौँ झरेका छन् । गाउँमा केही पशुचौपाया हेर्ने गोठालाहरु बाहेक पूरै गाउँका घरमा ताल्चा मारिएको छ । लाग्छ स्थानीय सबै गाउँ छोडेर गएपछि साङ्ता गाउँ पूरै गुमनाम जस्तै छ ।
साङ्ता गाउँमा जम्मा १३ घरधुरी छन् । हिउँदयामको जाडो छल्न पारिलो स्थानमा लागेका यहाँका नागरिकहरु चैत–वैशाख महिनामा मात्रै गाउँ फर्कन्छन् । तर, यसपालिका फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान गर्न २१ फागुन अगावै गाउँ पुग्नुपर्ने बाध्यता छ ।
केही दिनअघि यहाँस्थित साङ्ता गाउँको हिमाली मतदान केन्द्रको अवलोकन गर्न पुगेको जिल्ला सुरक्षा समितिको टोली साङ्ता गाउँ जाने सडकको आधा बाटोमा पुगेर फर्किएको थियो । मुस्ताङका अधिकांश मतदान केन्द्रहरुको जिल्ला सुरक्षा समितिले स्थलगत अनुगमन गरेपछि यहाँका साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र हिमपातले सडक अवरुद्ध हुँदा अनुमगन हुन सकेको छैन ।
