बुधबार १३ फागुन, २०८२

ग्यास अभाव हुन नदिन निगमको उच्च सतर्कता, उपभोक्तालाई निश्चिन्त हुन आग्रह

ग्यास अभाव हुन नदिन निगमको उच्च सतर्कता, उपभोक्तालाई निश्चिन्त हुन आग्रह

काठमाडौँ । आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्थालाई थप सुदृढ बनाएको जनाएको छ। निर्वाचनका बेला बजारमा ग्यासको अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै निगमले भारतबाट आयात बढाएको हो।

निगमका अनुसार भारतीय आपूर्तिकर्ता इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट उच्च दरमा ग्यास लोडिङ भइरहेको छ। हिजो (मंगलबार) मात्र यो वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास भित्रिएको बताइएको छ। हिजो एकै दिन १३८ बुलेट ग्यास लोड भएको छ, जुन करिब १ लाख ७३ हजार ८०० सिलिन्डर बराबर हो।

निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले निर्वाचन अवधिभर आपूर्ति नियमित राखिने स्पष्ट पार्दै उपभोक्तालाई आत्तिनु नपर्ने बताएका छन्। कृत्रिम अभाव सिर्जना हुन नदिन भण्डारण क्षमता बढाउनुका साथै वितरण संयन्त्रलाई पनि चुस्त बनाइएको निगमको भनाइ छ। निगमले बजार अनुगमनलाई समेत तीव्र बनाएको र आवश्यक परे थप परिमाणमा आयात गर्न सक्ने तयारी अवस्थामा रहेको जनाएको छ।