बुधबार १३ फागुन, २०८२

घोषणापत्रमा ‘पर्यटन समृद्धि’को सपना : ३० लाख पर्यटकदेखि पाँच वर्षमै दोब्बर आगमनसम्म

घोषणापत्रमा ‘पर्यटन समृद्धि’को सपना : ३० लाख पर्यटकदेखि पाँच वर्षमै दोब्बर आगमनसम्म

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रमुख राजनीतिक दलहरूले सार्वजनिक गरेका घोषणापत्रमा पर्यटन क्षेत्रलाई मुख्य एजेन्डाका रूपमा अघि सारेका छन् । धार्मिक, सांस्कृतिक, साहसिक र वेलनेस पर्यटनलाई केन्द्रमा राख्दै दलहरूले पूर्वाधार विकासदेखि डिजिटल प्रवर्द्धनसम्मका महत्वाकांक्षी योजना प्रस्तुत गरेका छन् ।

कांग्रेस : ‘आध्यात्मिक राजधानी’ बनाउने लक्ष्य

नेपाली कांग्रेस ले नेपाललाई विश्वको ‘आध्यात्मिक राजधानी’ का रूपमा ब्रान्डिङ गर्ने दीर्घकालीन योजना अघि सारेको छ । ‘आस्थाको यात्रा’ नारासहित सांस्कृतिक करिडोर निर्माण गर्ने, धार्मिक तथा सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउने र विभिन्न क्षेत्रलाई जोड्ने आध्यात्मिक सर्किट विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाडौं, पोखरा, लुम्बिनी, जनकपुर, मुक्तिनाथ र कर्णालीमा अन्तर्राष्ट्रिय अध्ययन केन्द्र स्थापना गर्ने योजना कांग्रेसले सार्वजनिक गरेको छ । ‘जनकपुर–लुम्बिनी–काठमाडौं’ आध्यात्मिक करिडोर तथा ‘बुद्ध–टु–शिव’ डिजिटल करिडोरमार्फत प्रमुख तीर्थस्थललाई हवाई र सडक सञ्जालले जोड्ने उल्लेख छ ।

ग्रामीण होमस्टे, कृषि–पर्यटन, सांस्कृतिक पर्यटन र स्थानीय उत्पादनको प्रवर्द्धनमार्फत स्थानीय अर्थतन्त्र चलायमान बनाउने, योग–ध्यान, आयुर्वेद र जडीबुटीलाई समेट्दै ‘आरोग्य नेपाल’ अभियान सञ्चालन गर्ने तथा प्रमुख गन्तव्यमा वेलनेस जोन स्थापना गर्ने योजना पनि कांग्रेसको घोषणापत्रमा समेटिएको छ ।

कांग्रेसले आगामी १० वर्षभित्र वार्षिक ३० लाख पर्यटक भित्र्याउने र पर्यटन क्षेत्रको योगदान कुल गार्हस्थ्य उत्पादनमा १५–२० प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । हवाई भाडा सुलभ बनाउने, विमानस्थल सेवा सुधार गर्ने र नेपाल एयरलाइन्स लाई व्यवस्थापन सुधारमार्फत सुदृढ बनाउने घोषणा पनि गरिएको छ ।

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने, बहुभाषिक डिजिटल पर्यटन प्लेटफर्म लागू गर्ने र पर्यावरणमैत्री पर्यटनलाई प्रवर्द्धन गर्ने प्रतिबद्धता कांग्रेसले व्यक्त गरेको छ । ‘सफा हिमाल, सुरक्षित आरोहण’ अभियान सञ्चालन गर्दै पर्वतारोहण रोयल्टीको ३० प्रतिशत रकम हिमताल संरक्षणमा खर्च गर्ने योजना पनि अघि सारिएको छ ।

एमाले : पाँच वर्षमै पर्यटक दोब्बर

नेकपा एमाले ले पाँच वर्षभित्र पर्यटक आगमन दोब्बर पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ । पूर्वाधार विकास, बजार विस्तार, हवाई सेवा सुधार र नयाँ गन्तव्य प्रवर्द्धनमार्फत ‘गन्तव्य नेपाल’ लाई थप आकर्षक बनाउने उल्लेख गरिएको छ ।

एमालेले लक्जरी रिसोर्ट, इको–लज र वेलनेस सेन्टर निर्माणमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने, सामाजिक सञ्जाल र अन्तर्राष्ट्रिय प्रचारमार्फत आक्रामक ब्रान्डिङ गर्ने तथा ‘पर्यटक सुरक्षा पहिलो प्राथमिकता’ को नीतिमा पर्यटन सेवा गुणस्तर वृद्धि गर्ने जनाएको छ ।

नेकपा : धार्मिक धरोहर र स्मार्ट टुरिजम

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धार्मिक तथा ऐतिहासिक धरोहर संरक्षणलाई प्राथमिकतामा राखेको छ । पशुपति, लुम्बिनी, जनकपुर, स्वर्गद्वारी, हलेसी, मुक्तिनाथलगायत क्षेत्रको संरक्षण र प्रवर्द्धन गरिने उल्लेख गरिएको छ ।

डिजिटल टुरिजम ड्यासबोर्डमार्फत गन्तव्य र सेवासम्बन्धी तथ्यांक उपलब्ध गराउने, ट्रेकिङ मार्गमा सुरक्षित सूचना प्रणाली लागू गर्ने र भैरहवा तथा पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार गर्ने योजना पनि घोषणापत्रमा समेटिएको छ । इको–टुरिज्म, साहसिक पर्यटन र स्वास्थ्य पर्यटन प्रवर्द्धनमा जोड दिइएको छ ।

रास्वपा : पर्यटक र खर्च दुवै दोब्बर

राष्ट्रिय स्वतन्त्र पार्टी ले पाँच वर्षभित्र पर्यटक संख्या र प्रतिव्यक्ति खर्च दुवै दोब्बर बनाउने लक्ष्यसहित संरचनात्मक सुधारको एजेन्डा अघि सारेको छ ।

नेपाल पर्यटन बोर्ड पुनर्गठन, सिर्जनात्मक मार्केटिङ रणनीति अवलम्बन, धार्मिक–सांस्कृतिक केन्द्रहरूको पूर्वाधार विकास र ‘माउन्टेन स्कुल’ स्थापना गर्ने योजना सार्वजनिक गरिएको छ ।

नागरिक उड्डयन क्षेत्र सुधार गर्दै नियामक र सेवा प्रदायक निकाय अलग गर्ने, अन्तर्राष्ट्रिय अडिटमार्फत हवाई सुरक्षा सुदृढ गर्ने र नेपाल वायुसेवा निगम लाई व्यावसायिक ढंगले सञ्चालन गर्ने प्रतिबद्धता पनि गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता विस्तार, पोखरा र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण सञ्चालन तथा दीर्घकालीन रूपमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अध्ययन अघि बढाउने उल्लेख गरिएको छ । एकद्वार डिजिटल प्रणालीमार्फत पर्यटन अनुमति र शुल्क प्रणाली एकीकृत गरिने योजना पनि रास्वपाले अघि सारेको छ ।