बुधबार १३ फागुन, २०८२

नौबिसे-नागढुंगा सडक खण्ड : ८५ प्रतिशत काम सकियो

नौबिसे-नागढुंगा सडक खण्ड : ८५ प्रतिशत काम सकियो

काठमाडौं । धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे-नागढुंगा सडक खण्डको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ ।

नौबिसे-नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाकाअनुसार नौबिसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुईवटा पुल निर्माण गर्नुपर्ने थियो ।

सोही बमोजिम आयोजनाले धेरै काम सम्पन्न गरी सकेको छ । आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गनुपर्नेछ ।

अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम सुरु गरिने आयोजनाले जनाएको छ ।

२१ फागुनमा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ ।

आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाइ भएको छ ।

आकाशे पुल निर्माण लगायत मुख्य कामहरू ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ । सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको छ ।

अकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले पनि कामले गति लिने विश्वास आयोजनाले लिएको छ ।

सगुन कन्टक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का निर्वाचनका कारणले निर्माणमा केही ढिलाइ हुने बताउँछन् ।

यसअघि सडकमा रहेका विद्युत् पुोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो । २०७९ सालदेखि निर्माण सुरु गरिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो ।