तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुन्छ : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका छन् ।
बुधबार जनकपुरधामस्थीत जानकी मन्दिरको दर्शन गर्ने क्रममा समर्थकलाई सम्बोधन गर्दै लामिछानेले रास्वपाले कुनै एक क्षेत्रको नभइ समग्र मुलुकको बिकासको कुरा गर्ने भन्दै अब तराई, पहाड र हिमाललाई अलग गरेर राजनीति गर्नेको दोकान अब बन्द हुने बताएका हुन् ।
उनले सिङ्गो देश र मधेसलाई विभाजन गर्ने अथवा अलग गरेर राजनीति गर्ने युगलाई अन्त्य गर्न खोजेको उल्लेख गरे । उनले इमानदारीपूर्वक देशको कुरा गर्ने र जनताको एक एक मतलाई कदर गर्दै अघि बढ्ने धारणा राखे ।
दशकौंसम्म विभेद र अन्यायमा परेको मधेशलाई समेत प्राथमिकतामा राख्दै यहाका धार्मिक पर्यटनलाई बढावा दिने गरी काम गरिने उनले बताए ।
लामिछानेले रास्वपाले अघिल्लो निर्वाचनमा सुशासनको कुरा गरेपनि विभेदको कुरा गर्न चूकेको भन्दै यसपटक विभेदको अन्त्यसँगै सुशासनको स्थापनाका लागि गम्भीर भएर लाग्ने उल्लेख गरे ।
