धादिङ–१ मा आसिका तामाङ : कृषि, पर्यटन र स्वास्थ्य सुधारमा नौ बुँदे 'रोडम्याप'
धादिङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ निर्वाचन क्षेत्र नम्बर–१ की उम्मेदवार आसिका तामाङले जिल्लाको आर्थिक, सामाजिक र पूर्वाधार विकासलाई केन्द्रमा राख्दै नौ बुँदे मार्गचित्र सार्वजनिक गरेकी छन्। उनले किसानको आम्दानी वृद्धि, पर्यटन प्रवर्द्धन, प्राकृतिक स्रोतको संरक्षण र पारदर्शी शासनमार्फत धादिङलाई देशकै नमूना जिल्ला बनाउने प्रतिबद्धता व्यक्त गरेकी छन्।
स्थानीय बासिन्दालाई सम्बोधन गर्दै तामाङले धादिङले काठमाडौँ उपत्यकामा खपत हुने करिब २५–३० प्रतिशत तरकारी उत्पादन गर्ने र वार्षिक करिब २ अर्ब ६० करोड रुपैयाँभन्दा बढीको कृषि कारोबार हुने तथ्य प्रस्तुत गरिन्। तर यति ठूलो योगदान हुँदाहुँदै पनि किसान आर्थिक रूपमा सशक्त हुन नसकेको भन्दै उनले बिचौलियाको प्रभाव, कुशासन र भ्रष्टाचारलाई मुख्य कारणका रूपमा औँल्याइन्।
उनले आर्थिक–सामाजिक सूचकाङ्कमा धादिङ ७७ जिल्लामध्ये ५२औँ स्थानमा रहेको उल्लेख गर्दै यस अवस्थालाई परिवर्तन गर्नु आफ्नो प्रमुख लक्ष्य रहेको बताइन्। “यो हाम्रो क्षमताको कमी होइन, वर्षौँदेखिको कुशासन र अव्यवस्थित प्रणालीको परिणाम हो,” उनले भनिन्।
तामाङले प्राकृतिक स्रोतको दिगो व्यवस्थापनलाई प्राथमिकतामा राख्दै पहाड, नदी र खोलानालाको संरक्षण गरिने बताइन्। अवैज्ञानिक उत्खनन नियन्त्रण गर्दै वातावरण संरक्षणका लागि कडा नीति लागू गरिने र सम्बन्धित निकायसँग प्रभावकारी समन्वय गरिने उनको भनाइ छ।
पर्यटन क्षेत्रको विकासका लागि त्रिशूली नदीको र्याफ्टिङ र महाभारत शृङ्खलालाई समेटेर ‘पर्यटन करिडोर’ निर्माण गर्ने योजना उनले अघि सारेकी छन्। साथै, होमस्टे र ग्रामीण पर्यटनमार्फत स्थानीय युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको उनले स्पष्ट पारिन्।
कृषि क्षेत्र सुधारका लागि ‘Made in Dhading’ अभियान सञ्चालन गरी किसानलाई सिधै अनुदान र उचित मूल्य सुनिश्चित गरिने उनले बताइन्। यस अभियानमार्फत बिचौलियाको प्रभाव न्यूनीकरण गर्दै किसानको आम्दानी वृद्धि गरिने उनको दाबी छ।
त्यस्तै, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि ‘पारदर्शी डिजिटल ड्यासबोर्ड’ लागू गरी सरकारी सेवाहरूलाई डिजिटल माध्यमबाट जनताको पहुँचमा पुर्याइने योजना उनले प्रस्तुत गरिन्।
स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै २४ सै घण्टा सेवा दिने ट्रमा अस्पताल स्थापना, निःशुल्क आमा–शिशु स्वास्थ्य सेवा तथा ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य जाँच सेवा उपलब्ध गराइने उनले बताइन्।
तामाङले धादिङलाई आर्थिक–सामाजिक रूपमा सुदृढ बनाउने लक्ष्यसहित आफूले भाषणभन्दा परिणाममुखी काममा जोड दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले धादिङलाई वर्तमान अवस्थाबाट माथि उठाएर देशकै अग्रणी जिल्लामध्ये एक बनाउने अभियानमा साथ दिन स्थानीय बासिन्दासँग अपिल गरेकी छन्।

