बिहीबार १४ फागुन, २०८२

चुनाव अवधिभर अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहने

चुनाव अवधिभर अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहने

काठमाडौं । चुनाव अवधिभर अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मीहरू तयारी अवस्थामा रहने भएका छन् ।

यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिका बमोजिम आवश्यक व्यवस्थापन हुनेछ ।

प्रतिनिधि सभा सदस्य निर्वाचनमा सबै मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा मतदान गर्न आउने मतदातालाई आवश्यक पर्न सक्ने आकस्मिक स्वास्थ्य सहायता सेवा सम्बन्धित मतदान स्थलमा उपलब्ध गराउने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तहमा लेखी पठाइएको छ ।

‘साथै अत्यावश्यक तथा आपतकालीन उपचार सेवा उपलब्ध गराउन सक्ने गरी देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा चिकित्सक, स्वास्थ्यकर्मी र औषधि तयारी अवस्थामा राख्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाइएको जानकारी गराइन्छ’ निर्वाचन आयोगको विवरणमा उल्लेख छ ।

आयोगबाट भएको निर्णय र पत्राचार बमोजिमका आवश्यक सहयोगको व्यवस्था मिलाउन नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सबै सरोकारवाला निकायलाई निर्वाचन आयोगले आग्रह समेत गरेको छ ।

निर्वाचन आयोगले मतदान केन्द्र कायम रहेका शिक्षण संस्था, स्वास्थ्य चौकी, बडा कार्यालयलगायतका सरकारी संरचनाहरू र ती सरकारी संरचनाहरूमा रहेका भौतिक सम्पत्ति फागुन १९ गतेदेखि फागुन २१ गतेसम्म तीन दिनका लागि उपयोग गर्न सक्नेगरी व्यवस्था मिलाइदिन सम्बन्धित मन्त्रालय र स्थानीय तहमा पत्राचार गरेको छ ।

केही जिल्लाहरुमा भने स्वास्थ्य क्षेत्रका कर्मचारीहरुलाई नै निर्वाचन कर्मचारीका रुपमा खटाइएको छ । यसले गर्दा ती ठाउँमा स्वास्थ्य क्षेत्र प्रभावित हुने देखिएको छ ।