बिहीबार १४ फागुन, २०८२

खानी अन्वेषणका नाममा जग्गा ओगट्ने प्रवृत्ति, रोक लगाउन क्षेत्र निर्धारण

खानी अन्वेषणका नाममा जग्गा ओगट्ने प्रवृत्ति, रोक लगाउन क्षेत्र निर्धारण

काठमाडौं । धातुजन्य खनिज पदार्थको अन्वेषण र खोजतलासका नाममा जग्गा ओगट्ने प्रवृत्ति बढेसँगै सरकारले अंकुश लगाएको छ ।

खानी तथा भूगर्भ विभागले यस्ता खानीको खोजतलास गर्दा अब अधिकतम ३५ वर्ग किलोमिटरभन्दा बढी क्षेत्र माग गर्न नपाउने गरी अंकुश लगाएको छ ।

विभागका अनुसार विद्यमान खानी तथा खनिज पदार्थ नियमावली २०५६ ले घटीमा ०.२५ र बढीमा २५० वर्गकिलोमिटरसम्मको क्षेत्र तोक्न सक्ने अधिकार दिएको छ ।

सोही कानुनलाई टेक्दै धातुजन्त खनिज पदार्थको खोजतलास अनुमति पत्रमा ठूलो क्षेत्रफलका लागि माग निवेदन दिने प्रवृत्ति बढेको विभागका जियोलोजिष्ट प्रफुल्ल ताम्राकारले जानकारी दिएका छन् ।

उनका अनुसार विभागबाट सबै क्षेत्रमा भौगर्भिक अध्ययन तथा नक्साङ्कन र खनिज अन्वेषण कार्य प्रारम्भिक रुपमा समेत सम्पन्न भइनसकेका कारण हाललाई धातुजन्य खनिज पदार्थ खोजतलास कार्य गर्न अनुमति माग क्षेत्र सीमित गर्ने निष्कर्षमा पुगिएको हो ।

विभागले अन्वेषणका लागि रोक्का राखेको क्षेत्र समेत सीमित रहेको र अहिले ठूलो क्षेत्रफलमा खोजतलास माग गरी सो अनुमतिपछि क्षेत्र ओगट्ने प्रवृत्ति बढ्दै गएको निष्कर्ष सरकारको छ । यस कार्यलाई निरुत्साहित गर्न क्षेत्र तोकिएको समेत उनले बताएका छन् ।