जेनजी आन्दोलनबारे बीबीसीको डकुमेन्ट्री, प्रहरी भन्छ– ‘कलसाइन संवाद काल्पनिक’
काठमाडौं । BBC World Service ले गत भदौ २३ र २४ गते काठमाडौंमा भएको जेनजी आन्दोलनबारे तयार पारेको ४१ मिनेट लामो डकुमेन्ट्री सार्वजनिक गरेपछि नेपालमा नयाँ बहस सुरु भएको छ। उक्त डकुमेन्ट्रीमा आन्दोलनका क्रममा भएका घटनाका भिडियो फुटेज, प्रत्यक्षदर्शीका भनाइ र अनुसन्धानका आधारमा केही नयाँ विवरण प्रस्तुत गरिएको छ।
भदौ २३ गतेको प्रदर्शनका क्रममा गोली लागेर १९ जना युवाको ज्यान गएको थियो। डकुमेन्ट्रीमा प्रदर्शनकारीहरूले प्रहरीको ब्यारिकेट तोड्दै संसद भवनतर्फ अघि बढेको, ढुंगामुढा गरेको तथा संसद भवनको गेटमा आगजनी गरेको दृश्य देखाइएको छ। त्यसपछि प्रहरीले टियर ग्यास र पानीको फोहोरा प्रयोग गरेको भए पनि स्थिति नियन्त्रणमा नआएपछि गोली चलेको उल्लेख गरिएको छ।
डकुमेन्ट्रीमा १७ वर्षीय श्रीयम चौलागाईंको घटनालाई विशेष रूपमा समेटिएको छ। उनी आन्दोलनमा सहभागी भए पनि अग्रपंक्तिमा नरहेको र भिडबाट टाढा जाने क्रममा गोली लागेको भिडियो विश्लेषणमा देखिएको जनाइएको छ। उनका बुबा–आमासँग गरिएको कुराकानी पनि डकुमेन्ट्रीमा समावेश गरिएको छ।
बीबीसीले आफ्नो अनुसन्धानमा प्रहरीको आन्तरिक ‘लग’ र ‘पिटर १’ कलसाइनको उल्लेख गर्दै गोली चलाउने आदेश शीर्ष तहबाट आएको दाबी गरेको छ। उक्त कलसाइन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ सँग सम्बन्धित रहेको रिपोर्टमा उल्लेख छ। रिपोर्टअनुसार फिल्डमा रहेका प्रहरीले अनुमति मागेपछि ‘कर्फ्यू लागू भइसकेको छ, आवश्यक बल प्रयोग गर्नु’ भन्ने निर्देशन दिइएको भनिएको छ।
तर, नेपाल प्रहरीले भने उक्त डकुमेन्ट्रीमा प्रस्तुत गरिएको विवरणलाई आधिकारिक नभएको जनाएको छ। केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्ले ले डकुमेन्ट्रीमा उल्लेख गरिएका संवादहरू आधिकारिक प्रमाण नभएको बताएका छन्। उनका अनुसार नेपाल प्रहरीले यस घटनाबारे पहिले नै आधिकारिक जानकारी सार्वजनिक गरिसकेको छ र आवश्यक परे थप तथ्य उपलब्ध गराउन तयार छ।
डकुमेन्ट्री सार्वजनिक भएपछि आन्दोलनका क्रममा भएको बल प्रयोग, त्यसको जिम्मेवारी र घटनाको वास्तविकताबारे पुनः सार्वजनिक चासो र बहस बढेको छ।
