शुक्रबार १५ फागुन, २०८२

बीबीसीको डकुमेन्ट्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको निर्देशन

बीबीसीको डकुमेन्ट्री हटाउन काउन्सिललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौं । जेन–जी आन्दोलनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले सार्वजनिक गरेको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिल नेपाललाई औपचारिक पत्राचार गरेको छ । आयोगले उक्त सामग्री निर्वाचन आचारसंहिता विपरीत हुन सक्ने र समग्र निर्वाचन वातावरणमा असर पार्न सक्ने ठहर गर्दै आवश्यक कदम चाल्न आग्रह गरेको जनाएको छ ।

आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार बिहीबार काउन्सिललाई पत्र पठाइएको हो । आयोगले सामग्री तत्काल हटाउन निर्देशन दिएको र अटेरी गरिए प्रचलित निर्वाचन कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी समेत दिएको बताइएको छ ।

प्रेस काउन्सिल नेपालका अनुगमन अधिकृत महेन्द्र सिंहले आयोगबाट उक्त विषयमा पत्र प्राप्त भएको पुष्टि गरेका छन् । काउन्सिलले आवश्यक अध्ययनपछि निर्णय गर्ने तयारी गरेको बुझिएको छ ।

बीबीसी वर्ल्ड सर्भिसले तयार पारेको ‘सट लाइक द इनिमिज : इन्साइड नेपाल्स जेनजी अपराइजिङ’ शीर्षकको वृत्तचित्रमा भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको घटनाक्रम विस्तृत रूपमा प्रस्तुत गरिएको छ । बीबीसीले नेपाल प्रहरीबाट प्राप्त गोप्य सूचना, आन्तरिक कागजात, सञ्चार सम्पर्कका अडियो र सामाजिक सञ्जालमा सार्वजनिक हजारौं भिडियाको विश्लेषणका आधारमा सामग्री तयार पारिएको दाबी गरेको छ ।

वृत्तचित्रमा घटनाको समयरेखा उल्लेख गर्दै कर्फ्यू लागू भएको समय, त्यसपछि बल प्रयोगका निर्णयहरू र गोली चलाइएको सन्दर्भ समेटिएको छ । डकुमेन्ट्रीमा ‘पिटर वान’ र ‘किलो वान’ जस्ता कल साइन प्रयोग गरी आदेशको श्रृंखला देखाइएको छ । त्यतिबेला नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङ रहेको र ‘किलो वान’ को नेतृत्व काठमाडौं प्रहरी प्रमुखका रूपमा कार्यरत एसएसपी विश्व अधिकारीले गरेको दाबी सामग्रीमा समावेश छ ।

बीबीसीका अनुसार ‘पिटर वान’ बाट कर्फ्यू लागू भएपछि थप आदेश नपर्खी आवश्यक बल प्रयोग गर्न निर्देशन दिइएको उल्लेख छ । तर नेपाल प्रहरीका प्रवक्ताले महानिरीक्षकबाट सोझै गोली चलाउने आदेश नआएको र निर्णय जिल्ला सुरक्षा समन्वय समितिको बैठकबाट भएको दाबी गरेका छन् । त्यसबेला उक्त समितिको नेतृत्व काठमाडौंका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले गरेका थिए । रिजालले आफूबाट गोली चलाउने आदेश नदिएको स्पष्ट पारेका छन् । त्यस्तै तत्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सो प्रकारको आदेश आफूबाट नदिएको बताएका छन् ।

वृत्तचित्रमा दोस्रो दिन प्रहरीलाई आफ्नो पोशाक, हतियार र सवारीसाधनको सुरक्षामा केन्द्रित हुन निर्देशन दिइएको तथा भीड नियन्त्रण सम्भव भएमा मात्र अश्रुग्यास प्रयोग गर्न भनिएको दाबी समेत गरिएको छ ।