लमजुङका सिडिओ उमेश ढुङ्गानाविरुद्ध विशेष अदालतमा मुद्दा, पदबाट निलम्बन
काठमाडौं । लमजुङका प्रमुख जिल्ला अधिकारी उमेश ढुङ्गाना सवारी दर्ता अनियमितता प्रकरणमा मुद्दा दर्ता भएपछि निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ३२ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ।
ढुङ्गाना हाल जिल्ला प्रशासन कार्यालय लमजुङमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत छन्। आयोगका अनुसार उनी लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका तत्कालीन सचिव रहँदा भएको सवारी दर्तासम्बन्धी अनियमिततासँग सम्बन्धित छन्।
आयोगले जनाएअनुसार यातायात व्यवस्था कार्यालय नेपालगन्ज, बाँकेमा भारतीय चोरीका तीन सवारीसाधन अवैध रूपमा दर्ता गरिएको भन्ने उजुरीपछि विस्तृत अनुसन्धान सुरु गरिएको थियो। अनुसन्धानका क्रममा भन्सार छली गरी नेपाल भित्र्याइएका ‘ब्रेजा’ ब्रान्डका सवारीसाधनलाई आर्थिक लेनदेनको आधारमा सरकारी अभिलेखमा प्रविष्ट गरी वैधता प्रदान गरिएको पुष्टि भएको दाबी गरिएको छ।
यस प्रकरणमा राष्ट्रसेवक र गैर–राष्ट्रसेवक व्यक्तिहरूबीच मिलेमतो भएको आयोगको निष्कर्ष छ। सरकारी कागजातमा प्रविष्टि गरी अवैध सवारीलाई कानुनी रूप दिइएको भन्दै संलग्न व्यक्तिहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कारबाहीको मागदाबी गरिएको छ।
ढुङ्गानामाथि सोही ऐनअन्तर्गत कैद तथा जरिवानाको सजाय माग गरिएको आयोगले जनाएको छ। मुद्दा दर्तासँगै उनी स्वचालित रूपमा निलम्बनमा परेका हुन्।
