मलाई बदनाम गर्न नयाँ र पुराना पार्टीले फ्याक्ट्री खोलेका छन् : सभापति थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूलाई बदनाम गर्न नयाँ र पुराना पार्टीले फ्याक्ट्री खोलेको बताएका छन् । बुटवलमा नेपाली कांग्रेसले शुक्रबार आयोजना गरेको चुनावी सभामा सभापति थापाले आफूलाई अपमान गर्न ती फ्याक्ट्रीबाट सामग्री काँटछाँट गरेर उपयुक्त समयमा सार्वजनिक गर्ने काम भइरहेको बताए ।
‘केही नयाँ र केही पुराना पार्टीले मैले बोलेका पुराना सामग्रीको काँटछाँट गर्ने फ्याक्ट्री नै खोल्नेछन् भन्ने थाहा थियो । त्यही फ्याक्ट्रीबाट उत्पादन भएको पछिल्लो जनजातिको बारेमा मैले अपमानजनक शब्द प्रयोग गरे भनेर भिडियोको अगाडीको भाग काटिएको प्रसङ्ग मात्र राखिएको छ,’ थापाले भने ।
उनले पार्टीका कार्यकर्ताहरूलाई सामाजिक सञ्जालमा मात्र अड्केर नबस्न नबसी मतदाताका घर–घरमा जान आग्रह गरे ।
‘पार्टीका तमाम साथीहरूलाई मेरो आग्रह छ– केही दिन मात्र बाँकी छ । नअलमलिनुस् कोही पनि साथीहरू । घर–घर जानुस् । तपाईंहरू सामाजिक सञ्जालमा आफ्नो कुरा राख्नुस् । तर, सामाजिक सञ्जालमा मात्र अड्केर नबस्नुस्,’ सभापति थापाले भने ।
उनले पार्टीका नेता कार्यकर्तालाई नौजवानका कुरा सुन्न पनि आग्रह गरे । कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुराहरूलाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ सङ्कल्प गरेर आएको कुरा नवयुवालाई बताउन थापाले पार्टी पङ्क्तिलाई आग्रह गरे ।
सभापति थापाले विभिन्न देशमा छरिएर रहेका नेपाली नागरिकबाट कांग्रेसले सहयोगको अपेक्षा गरेको पनि बताए ।
