होलीमा बेच्न राखिएका रवि–बालेन तस्बिर अंकित टी–सर्ट जफत, निर्वाचन आचारसंहिता उल्लंघन भएको ठहर
विराटनगर । होलीका लागि रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको फोटो छापेर बजारमा बेच्न राखिएका टी-सर्ट प्रहरीले जफत गर्न थालेको छ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी छापिएका टी सर्टहरू होलीमा पनि प्रयोग हुने देखिएपछि प्रहरीले पसल पसलमा गएर जफत गर्न थालेको हो ।
बरामद गरिएका टी सर्टमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहको तस्बिर तथा राजनीतिक नारा लेखिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस्ता टी सर्टहरू निर्वाचन आचार संहिता विपरीतका हुन् । यस्ता टिसर्टहरु प्रहरीले झापा, मोरङ र सुनसरीका विभिन्न बजारबाट जफत गर्न थालेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म मोरङ र झापाका विभिन्न स्थानबाट १ हजार ७ सय ६२ थान यस्ता सामग्री नियन्त्रणमा लिइएको छ । निर्वाचनको मौन अवधि सुरु हुन लाग्दा यस्ता सामग्रीले मतदातालाई प्रभावित पार्न सक्ने जोखिम देखिएकाले बरामद गरिएको प्रहरीले जनाएको छ ।
मोरङको विराटनगरबाट सबैभन्दा बढी परिमाणमा टिसर्ट बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले विभिन्न पसलहरूमा छापा मारी रवि लामिछाने र बालेन शाहको संयुक्त तस्बिर छापिएका १ हजार ५ सय थान भेस्ट तथा टी- सर्ट जफत गरेको हो ।
झापाको बिर्तामोड, मेचीनगर, दमक र बुद्ध शान्ति क्षेत्रबाट २ सय ६२ थान टी–सर्ट जफत गरिएको छ । पछिल्लो समय होलीका दिन सोते रङ्गको कपडा लाउने प्रचलन बढेको छ । यस्ता कपडा विभिन्न नारा र व्यक्तिको फोटो समेत प्रिन्ट गर्ने गरिएको छ ।
