एसएमएस र इन्टरनेट बैंकिङ सेवा निःशुल्क गर्ने राष्ट्रिय सहकारी बैंकको निर्णय
काठमाडौं । राष्ट्रिय सहकारी बैंक लिमिटेडले आफ्ना सदस्य सहकारी संघ/संस्थाका लागि एसएमएस तथा इन्टरनेट बैंकिङ सेवा निःशुल्क गर्ने निर्णय गरेको छ । बैंक सञ्चालक समितिको फाल्गुन ३ गते बसेको बैठकले शनिबारदेखि (फाल्गुन १६) लागू हुने गरी उक्त निर्णय गरेको हो ।
बैंकका अध्यक्ष महेन्द्र कुमार गिरीका अनुसार सदस्य सहकारी संघ/संस्थामा डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यसअघि लिँदै आएको शुल्क खारेज गरिएको बताए ।
उनले सदस्य संस्थाहरूलाई प्रविधिमैत्री बैंकिङतर्फ उन्मुख गराउने र सेवाको प्रयोग बढाउने लक्ष्यका साथ उक्त सेवा निःशुल्क गरिएको जानकारी दिए ।
यसअघि बैंकले सदस्य संघ/संस्थाहरूबाट एसएमएस सेवाको लागि वार्षिक २०० रुपैयाँ तथा इन्टरनेट बैंकिङ सेवाका लागि वार्षिक १०० रुपैयाँ लिँदै आएको थियो ।
नयाँ निर्णय कार्यान्वयनमा आएपछि सदस्य सहकारी संघ/संस्थाहरूले यी दुवै सेवा पूर्ण रूपमा निःशुल्क प्रयोग गर्न पाउने भएका छन् । बैंकका अनुसार शुल्क हटाउने निर्णयले डिजिटल सेवाप्रति सदस्य संस्थाहरूको आकर्षण र प्रयोग दुवै बढ्ने अपेक्षा गरेको छ ।
बैंकका अनुसार हालसम्म एसएमएस सेवा ४ हजार १४८ सदस्य सहकारी संघ/संस्थाले प्रयोग गरिरहेका छन् भने इन्टरनेट बैंकिङ सेवा २ हजार ७९४ सदस्य सहकारी संघ/संस्थाले लिइरहेका छन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बद्रीकुमार गुरागाईंले शुल्क हटाइएपछि यी सेवाको प्रयोग अझ विस्तार हुने बताए ।
डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकले आगामी दिनमा पनि सदस्य संस्थाहरूलाई प्रविधिमैत्री सेवामा आबद्ध गराउने कार्यक्रमहरू अघि बढाउने जानकारी दिए ।
उनका अनुसार निःशुल्क रूपमा प्रदान गरिने सेवाले सहकारी क्षेत्रको डिजिटल रूपान्तरणमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त व्यक्त गरे ।
बैंकले हाल सहकारी संघ/संस्थाहरूलाई नवीनतम सूचना प्रविधि तथा प्राविधिक सेवा अन्तर्गत इन्टरनेट बैंकिङ तथा एसएमएस सेवा, फण्ड ट्रान्सफर सेवा, कोप कार्ड (डेबिट कार्ड) सेवा, क्यु आर सेवा, कनेक्ट आइपीएस तथा कर्पोरेट पे सेवा प्रदान गर्दै आएको छ । बैंकमा हाल १६,४८० सहकारी संघ/संस्था सदस्य रहेका छन् ।
बैंकको यो निर्णयले सहकारी क्षेत्रमा डिजिटल वित्तीय सेवाको प्रयोग बढाउन, सञ्चालन खर्च घटाउन तथा संस्थागत दक्षता अभिवृद्धि गर्न सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
