शुक्रबार १५ फागुन, २०८२

कांग्रेसको सबैभन्दा ठूलो तागत संगठन हो, त्यसैको सहारामा घर–घर पुग्नुपर्छ : सभापति थापा

कांग्रेसको सबैभन्दा ठूलो तागत संगठन हो, त्यसैको सहारामा घर–घर पुग्नुपर्छ : सभापति थापा

गलकोट (बागलुङ) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको सबैभन्दा ठूलो तागत संगठन भएकाले त्यसैको सहारामा घर–घर पुग्नुपर्ने बताएका छन् ।

आज यहाँ बागलुङ बजारमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालको तागतमा नभएर पार्टी आफ्नै संगठनको तागतमा उभिएकाले जनताको घर–घरमा पुगेर आफ्ना कुरा राख्न र भोट माग्न आह्वान गरे ।

सभापति थापाले सामाजिक सञ्जालमार्फत अरूलाई टीकाटिप्पणी र आक्षेप नलगाई कार्यकर्ताको घरमा पुग्न र अबको पाँच वर्ष खेर नफाल्नेमा आश्वस्त पार्न आग्रह गरे ।

“कांग्रेस एउटा संकल्प र प्रतिज्ञा गरेर आएको छ, त्यसका लागि पाँच वर्ष जनताले मौका दिन आवश्यक छ । त्यसको आधार र कारणबारे बताउनुस् । यो पाँच वर्ष जोखिमपूर्ण ढंगले बनाइएको संविधान बचाउने र सहर तथा गाउँलाई जोड्नुपर्नेछ”, उनले भने, “सम्हाल्दै, सुधार्दै र अघि बढ्दै जाने तागत कांग्रेससँग मात्रै छ । मतदाताको बीचमा गएर यो कुरा भन्नुस् । खुलेर पार्टीको ‘भिजन १०’ का बारेमा बुझाउनुहोस् ।”

कांग्रेस युवाहरूको मागअनुसार रूपान्तरण भएको बताउँदै सभापित थापाले अनुभवी र बदलिएको यही कांग्रेसले अब युवाहरूको भावनालाई सम्बोधन गर्ने बताए ।