शुक्रबार १५ फागुन, २०८२

आचार संहिता उल्लंघनका सबै उजुरीको २० गतेभित्रै निर्णय हुन्छ : निर्वाचन आयोग

आचार संहिता उल्लंघनका सबै उजुरीको २० गतेभित्रै निर्णय हुन्छ : निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजार भन्दा बढीमाथि निर्वाचन आचारसंहिता उल्लंघनको कारबाही भएको बताएको छ ।

शुक्रबार पत्रकारसँग कुराकानी गर्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन् ।

‘पूरा १६५ निर्वाचन क्षेत्रमा एक हजार वटा कारबाही गरेको रिपोर्ट आयोगमा आएको छ,’ भण्डारीले भने, ‘त्यसको अतिरिक्त कसैले आचारसंहिता उल्लंघन गर्‍यो भने उसलाई स्पष्टीकरण सोधेर त्यसको फाइल विश्लेषण गरेर निर्णय गर्नुपर्नेछ ।’

आचारसंहिता उल्लंघन गरेको विषयमा सजायमुखी निर्णय गरेको उनले बताए । ‘त्यसको अतिरिक्त केही देखियो भने हामी तुरुन्तै निर्णय गर्छौँ । निर्वाचन हुनुपूर्व जति पनि उजुरी परेको छ, २० गतेभित्र हामी निर्णय गरिसक्छौँ,’ कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने ।