नेताहरूका बालीदेखि स्वीट्जरल्यान्डसम्मका सपना : वाचापत्रमा कस्ता छन् प्रतिबद्धता ?
काठमाडौं । पछिल्ला दिनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देशका विभिन्न क्षेत्रका पर्यटकीय सम्भावनालाई अन्तर्राष्ट्रिय गन्तव्यसँग तुलना गर्दै नयाँ पर्यटन दृष्टिकोण सार्वजनिक गरिरहेका छन्। उनले नेपालभित्रै विश्वस्तरका गन्तव्य रहेको तर तिनको उचित पहिचान र प्रवर्द्धन हुन नसकेको बताएका छन्।
धनगढीमा आयोजित कार्यक्रममा उनले बडिमालिका, रामारोशन र खप्तडजस्ता क्षेत्रलाई ‘स्वीट्जरल्यान्डको बाउ’ भन्दै नेपालमा नै विश्वस्तरीय प्राकृतिक सम्पदा रहेको उल्लेख गरे। नेपाललाई स्वीट्जरल्यान्ड बनाउनुपर्ने होइन, बरु नेपालकै मौलिक गन्तव्यलाई विश्वसामु चिनाउनुपर्ने उनको भनाइ थियो। उनले सुदूरपश्चिमजस्ता क्षेत्र पूर्वाधार र पहुँचको अभावमा ओझेलमा परेको बताए।
त्यस्तै, सुनसरीको इटहरीमा आयोजित चुनावी सभामा उनले बराह क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको धार्मिक तथा पर्यटकीय केन्द्रका रूपमा विकास गर्न सकिने बताएका छन्। उनले बराह क्षेत्रलाई बाली र माल्दिभ्सजस्तै आकर्षक गन्तव्य बनाउन सकिने सम्भावना औंल्याउँदै यसको प्रचार, पूर्वाधार विकास र व्यवस्थापनमा जोड दिनुपर्ने बताए। नेपालका धार्मिक र प्राकृतिक सम्पदालाई विश्वस्तरमा स्थापित गर्न दीर्घकालीन योजना आवश्यक रहेको उनको भनाइ थियो।
रास्वपाले आफ्नो घोषणापत्रमार्फत पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधारका रूपमा अघि बढाउने योजना सार्वजनिक गरेको छ। आगामी पाँच वर्षभित्र नेपाल आउने पर्यटक संख्या र उनीहरूको खर्च उल्लेखनीय रूपमा वृद्धि गर्ने, नयाँ पर्यटकीय गन्तव्य पहिचान गर्ने र पदमार्ग, पर्वतीय तथा सांस्कृतिक पर्यटनलाई विस्तार गर्ने लक्ष्य राखिएको छ। साथै, हिल स्टेसन विकास, धार्मिक पर्यटन प्रवर्द्धन, नेपाल पर्यटन बोर्ड पुनर्संरचना र हवाई पूर्वाधार विस्तारलाई पनि प्राथमिकतामा राखिएको छ।
नेपाल वायुसेवा निगमको सुधार, अन्तर्राष्ट्रिय उडान विस्तार, पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको पूर्ण सञ्चालन तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई पनि रास्वपाले आफ्नो प्राथमिकतामा समावेश गरेको छ।
यता नेपाली कांग्रेसले पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्ने लक्ष्यसहित वार्षिक ३० लाख पर्यटक भित्र्याउने योजना अघि सारेको छ। नेपाललाई आध्यात्मिक तथा सांस्कृतिक पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गर्दै प्रमुख धार्मिक स्थलहरूलाई एकीकृत पर्यटन सर्किटमार्फत जोड्ने योजना कांग्रेसको छ।
नेकपा एमालेले पनि पर्यटन पूर्वाधार विस्तार, अन्तर्राष्ट्रिय उडान सहजता, नयाँ गन्तव्य विकास र निजी क्षेत्रको सहभागितामार्फत आगामी पाँच वर्षमा पर्यटक आगमन दोब्बर बनाउने लक्ष्य राखेको छ। अन्य राजनीतिक दलहरूले समेत पर्यटन क्षेत्रलाई रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र आर्थिक समृद्धिको प्रमुख माध्यमका रूपमा विकास गर्ने प्रतिबद्धता जनाएका छन्।
यसरी आगामी निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूले पर्यटन क्षेत्रको व्यापक विकास, अन्तर्राष्ट्रिय ब्रान्डिङ र नयाँ गन्तव्य प्रवर्द्धनमार्फत नेपाललाई विश्वस्तरीय पर्यटन गन्तव्य बनाउने प्रतिस्पर्धात्मक योजना सार्वजनिक गरेका छन्।
