आइतबार १७ फागुन, २०८२

'विश्व भूराजनीतिको टकराव र व्यापार ध्रुविकरणले आर्थिक विस्तार चुनौतीपूर्ण छ' : राष्ट्र बैंक

'विश्व भूराजनीतिको टकराव र व्यापार ध्रुविकरणले आर्थिक विस्तार चुनौतीपूर्ण छ' : राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले विश्वका कतिपय मुलुकविचको  भूराजनीतिक टकराव र व्यापार ध्रुवीकरणले उच्च आर्थिक विस्तार चुनौतीपूर्ण हुँदै गएको बताएको छ । विश्व भूराजनीतिमा नयाँ आयामहरू देखा पर्दै जादा आर्थिक विस्तार थप चुनौती पूर्ण देखिएको उसले भनेको छ । 

यद्यपि, प्रविधिमा भएको लगानी विस्तारले उत्पादकत्व वृद्धिमा सहयोग पुगेको अन्तर्राष्ट्रिय मुद्रा कोषको विश्लेषण छ । फलस्वरूप, सन्२०२५ मा ३.३ प्रतिशतले वृद्धि भएको विश्व अर्थतन्त्र सन्२०२६ मा समेत सोही दरले विस्तार हुने कोषको प्रक्षेपण छ ।

सन् २०२५ मा विकसित अर्थतन्त्रको वृद्धिदर १.७ प्रतिशत र उदीयमान तथा विकासोन्मुख अर्थतन्त्रको वृद्धिदर ४.४ प्रतिशत रहेको अनुमान छ ।

सन् २०२६ मा यी अर्थतन्त्रहरू क्रमशः १.८ प्रतिशत र ४.२ प्रतिशतलेवृद्धि हुने कोषको प्रक्षेपण छ । सन् २०२५ को तुलनामा सन् २०२६ मा भारत र चीनको आर्थिक वृद्धिदरको गति केही सुस्त हुने कोषको प्रक्षेपण छ ।

२०२५ मा ७.३ प्रतिशतले वृद्धि भएको भारतीय अर्थतन्त्र सन् २०२६ मा ६.५ प्रतिशतले एवम सन्२०२५ मा ५.० प्रतिशतले वृद्धि भएको चीनको अर्थतन्त्र सन्२०२६ मा ४.५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।

विश्व मुद्रास्फीतिमा चाप न्यून हुँदै गएकाले अधिकांश केन्द्रीय बैंकहरूले मौद्रिक नीतिको लचिलो कार्यदिशालाई निरन्तरता दिएका छन्। सन् २०२५ मा ४.१ प्रतिशत रहेको विश्व मुद्रास्फीति सन् २०२६ मा ३.८ प्रतिशत र सन् २०२७ मा ३.४ प्रतिशतमा सीमित हुने कोषको प्रक्षेपण छ ।