आइतबार १७ फागुन, २०८२

निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रहरीलाई आईजीपीको निर्देशन

निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन प्रहरीलाई आईजीपीको निर्देशन

काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गराउन प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिएका छन् ।

कार्कीले आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पको रूपमा लिई भयरहित एवम् निष्पक्ष वातावरणमा सफलतापूवर्क सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू सामूहिक जिम्मेवारीबोधका साथ कटिबद्ध हुन निर्देशन दिए ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा आसन्न निर्वाचनको सन्दर्भमा निर्वाचन पूर्व, निर्वाचनको समय र निर्वाचन पश्चात अपनाउनुपर्ने सुरक्षा सतर्कता तथा समसामयिक विषयवस्तुमा आइतबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कार्कीले उक्त निर्देशन दिएका हुन् ।

निर्वाचनमा नेपाल प्रहरीले अग्रपंक्तिमा रहेर कार्य गर्ने र सो समयमा देखापर्न सक्ने सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक सुरक्षा रणनीति सहित प्रहरी कर्मचारीहरू सदैव तयार हुनुपर्ने बताए ।

सूचना संकलनलाई विशेष प्राथमिकतामा राखी सुरक्षा संवेदनशीलतालाई विश्लेषण गर्दै प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिए ।

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने एवम् अवाञ्छित गतिविधिका साथै सामाजिक सञ्जाल मार्फत गलत सूचना तथा मिथ्या सूचना सम्प्रेषणमा संलग्नलाई कानुनी दायरामा ल्याउन थप सक्रिय रूपमा प्रस्तुत भई कार्य गर्नुपर्नेमा विशेष जोड दिए ।