कूटनीति र संवादमार्फत मध्यपूर्वको तनाव समाधान गर्न नेपालको आग्रह
काठमाडौं । नेपालले मध्यपूर्वी क्षेत्रमा देखिएको तनाव कूटनीति र संवाद मार्फत समाधान गर्न आह्वान गरेको छ। आइतबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कूटनीति र संवादमार्फत समस्याको समाधान गर्न आह्वान गरेको हो।
‘नेपालले सम्बन्धित सबै पक्षहरूलाई अधिकतम संयम अपनाउन, थप तनाव नबढाउन र सर्वसाधारण नागरिकहरूको सुरक्षाको सुनिश्चितता गर्न आग्रह गरेको छ। नेपालले मतभेदहरू कूटनीति र संवादमार्फत समाधान गर्न आह्वान गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
नेपाल सरकारले मध्यपूर्वमा भइरहेको घटनाक्रमलाई नजिकबाट नियालिरहेको पनि बताएको छ।
त्यस्तै नेपालले संयुक्त राष्ट्रसंघ चार्टर र अन्तर्राष्ट्रिय कानुन अनुसार राज्यको सार्वभौमिकता र भौगोलिक अखण्डताको सम्मान हुनुपर्नेमा जोड दिएको छ।
शनिबार संयुक्त राज्य अमेरिका र इसराइलले इरानमा हमला गरी त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको छ।
जबाफमा इरानले खाडी र मध्यपूर्वी देशहरूमा अमेरिकी सेनाको सैन्य अखडालाई लक्ष्य गरेर मिसाइल र ड्रोन हमला गरिरहेको छ। साउदी अरब, कतार, युएई, लगायतका देशहरूमा इरानले हमला गरिरहेको छ।
ती देशहरूमा ठूलो संख्यामा नेपाली कामदारहरू कार्यरत छन्।
