अर्घाखाँचीका सबै मतदानस्थलमा पुर्याइयो निर्वाचन सामग्री
अर्घाखाँची । अर्घाखाँचीका सबै मतदानस्थलमा कर्मचारी, सुरक्षाकर्मी र निर्वाचन सामाग्री पुगेको छ ।
मतदान अधिकृत, सहायक कर्मचारी र सुरक्षाकर्मीहरू र मतपेटिका, मतपत्रसहितका सामग्री सोमबार नै मतदानस्थलमा पुर्याइएको छ । ‘निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ’, मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताए ।
जिल्लाभर १०२ वटा मतदानस्थल र २०९ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । प्रत्येक मतदान केन्द्रमा मतदान अधिकृतसहित आवश्यक कर्मचारी र सुरक्षाकर्मीको व्यवस्था गरिएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले बताएका छन् ।
अर्घाखाँचीमा कुल एक लाख ७१ हजार ६५२ जना मतदाता रहेका छन् । तीमध्ये पुरुष, महिला तथा अन्य मतदाताको संख्या समेटिएको छ । मतदातालाई सहज र सुरक्षित वातावरणमा मतदान गर्न सक्ने व्यवस्था मिलाइएको जनाइएको छ । मतदान केन्द्रहरूमा आवश्यक आधारभूत पूर्वाधार, मतपेटिका, मतपत्र, मतदाता नामावली तथा अन्य आवश्यक सामग्री पठाइएको छ ।
निर्वाचनका दिन कुनै पनि अप्रिय घटना हुन नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायलाई परिचालन गरिनेछ । संवेदनशील र अति संवेदनशील मतदान केन्द्रमा थप सुरक्षा सतर्कता अपनाइने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताएका छन् ।
मतदातालाई निर्धक्क भएर मतदानमा सहभागी हुन अपिल गरिएको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा अर्घाखाँचीमा निर्वाचनको चहलपहल बढेको छ ।
कर्मचारी तथा सुरक्षाकर्मी मतदान केन्द्रतर्फ प्रस्थान गरेसँगै जिल्लामा चुनावी माहोल थप तातेको छ । निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न हुने विश्वास निर्वाचन कार्यालयले व्यक्त गरेको छ ।
