मध्यपूर्व तनावको प्रभाव : १६ अन्तर्राष्ट्रिय उडान रद्द
काठमाडौं । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमण र इरानको जवाफी आक्रमणका कारण नेपालको अन्तर्राष्ट्रिय हवाई सम्पर्कमा प्रत्यक्ष असर परेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार मात्र पूर्वनिर्धारित कुल १६ अन्तर्राष्ट्रिय उडान रद्द भएका छन् । जसमा जजिरा एयरवेज, कुवेत एयरवेज, एयर अरेबिया, फ्लाइ दुबई, नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्सका उडान छन् ।
सोमबार मात्र जजिराको कुवेत–काठमाडौं–कुवेत उडान रद्द भयो । कुवेत एयरवेजको कुवेत–काठमाडौं–कुवेत उडान समेत रद्द भएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
सारजहाँ विमानस्थल, दुबई विमानस्थल, दोहा विमानस्थल र कतार विमानस्थलमा अहिले नियमित यात्रु उडान हुन सकेका छैनन् । विमानस्थल कार्यालयका अनुसार कतार, यूएई, कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनको एयरस्पेस अहिले बन्द छ ।
त्रिभुवन विमानस्थलले यात्रु व्यवस्थापन सहज र प्रभावकारी बनाउन एयरलाइन्स र सम्बन्धित निकायसँग नजिकबाट समन्वय गरिरहेको समेत बताएको छ ।
