आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुँदै
काठमाडौं, असोज १०
“स्वदेशी उत्पादन, हाम्रो अभियान” भन्ने मूल नाराका साथ आगामी आइतबारदेखि राजधानीमा घरेलु उद्यमी मेला तथा दशैं महोत्सव २०८१ आयोजना हुने भएको छ ।
घरेलु तथा साना उद्योग संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको संयुक्त रुपमा राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा उक्त मेला आयोजना गर्न लागिएको बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ । घरेलु तथा साना उद्योग संघ काठमाडौंका सचिव तथा मेला संयोजक जितेन्द्र कुमार श्रेष्ठले महानगरपालिकसँगको सहकार्यमा असोज १३ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी आयोजना गर्न लागिएको बताउनुभयो ।
काठमाडौं जिल्लाका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहने उहाँले बताउनुभयो ।
लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्तालगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव आदि कार्यक्रम प्रदर्शनीका आकर्षणको रुपमा रहेको उहाँले जानकारी दिनुभयो । घरेलु तथा साना उद्योग संघ काठमाडौंकी अध्यक्ष पद्म कुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्धारा उत्पादन गरिएका वस्तुहरुलाई प्रवद्र्धनका साथै बजारीकरण गरी स्वदेशी उद्योगद्धारा उत्पादित वस्तुहरुको उपभोगमा बृद्धि गरी बेरोजगारीलाई केही हदसम्म कमी ल्याउने उद्देश्य रहेको बताउनुभयो ।
काठमाडौं जिल्लाका चन्द्रागिरी नगरपालिका, टोखा नगरपालिका, नागार्जुन नगरपालिका, उद्योग तथा वाणिज्य कार्यालय काठमाडौंसँगको सहकार्य र सहआयोजनामा गरिन लागेको यो दोस्रो जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी घरेलु उद्यमी मेला तथा दशैं महोत्सवमा बढी भन्दा बढी स्वदेशी तथा विदेशी नागरिकहरुलाई अवलोकन गराई नेपाली उत्पादन तथा वस्तुहरुको ब्राण्डिङका साथै पहिचान गराउने मेलाको उद्देश्य रहेको संघकी अध्यक्ष कार्कीले बताउनुभयो ।
रोजगारीका लागि विदेशिनुपर्ने बाध्यतालाई प्रदर्शनीमार्फत स्वदेशमै केही अवसरहरु छन्, हामीले चाहेको अवस्थामा केही गरौं आफ्नै देशमा, रोजगार सिर्जना गरौं आफ्नै देशमा भन्ने मनोभावनाका साथ काम गरौं भन्ने मेलाको मुख्य ध्येय रहेको छ । नेपाल सरकारमार्फत पनि स्वदेशी उद्योग तथा उद्यमीहरुलाई प्रवद्र्धन गर्नको लागि प्रतिष्पर्धी बजारमा स्वदेशी उत्पादनहरुलाई लागत घटाउनको लागि आवश्यक करका दरहरु देखि दर्ता, नविकरणका कार्यहरु समेत सहज गनुपर्ने अप.वस्था देखिएको मेला संयोजक श्रेष्ठले बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघकी उपाध्यक्ष शोभा गुरुङले देशको व्यापारघाटा न्यूनीकरण गर्नुका साथै अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेका लघु घरेलु तथा साना उद्योगका उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणमा व्यापार मेलाको उल्लेख्य भूमिका रहेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा नेपाल घरेलु तथा साना उद्योग महासंघका पूर्व अध्यक्ष तथा संघका सल्लाहकार आङदेण्डी शेर्पा, घरेलु तथा साना उद्योग संघ काठमाडौंका उपाध्यक्ष इश्वर गुरुङ, फुटवेयर म्यानुफ्याक्चर एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष नानीराज घिमिरे, संघ अन्तरगत महिला उद्यमी समितिकी अध्यक्ष उषा दाहाल, उपाध्यक्ष लक्ष्मी नेपाल, संघ महिला उद्यमी समितिकी सदस्य अञ्जु बस्नेत, महासंघ केन्द्रिय सदस्य सुशील तामाङ र इन्द्र बहादुर महर्जनलगायतको सहभागिता रहेको थियो ।