प्रहरीमा ८ डीआईजीका लागि प्रतिस्पर्धा

प्रहरीमा ८ डीआईजीका लागि प्रतिस्पर्धा

काठमाडौं, ७ कात्तिक । १० दिनपछि नेपाल प्रहरीको प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा ८ जनाको रिक्त दरबन्दी पुग्नेछ । अहिले ५ दरबन्दी रिक्त रहेका छन् भने १७ कात्तिकसम्म थप ३ दरबन्दी रिक्त हुन लागेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा कार्यरत प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा दरबन्दी कायम रहेकी डीआईजी किरण राणा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएपछि एउटा डीआइजी पद रिक्त छ ।

डीआईजी यज्ञविनोद पोखरेल १४ असोजमा ५६ वर्षे उमे हदका कारण अनिवार्य अवकाशमा परेका थिए । ५६ वर्षे उमेर हदकै कारण १६ भदौमा बागमती प्रदेशका डीआईजी बिष्णुकुमार केसी पनि अनिवार्य अवकाशमा गएका थिए ।

‘अहिले बढुवा गर्दा ५ जनालाई मात्रै बुढवा गर्नुपर्ने हुन्छ । अबको १० दिनपछि नै थप ३ दरबन्दी खाली हुने हुँदा एकै पटक बढुवा गर्ने तयारी गरिएको छ’, एक अधिकृतले भने ।

७ कात्तिकपछि रिक्त हुने ८ डीआईजीका लागि ३ ब्याचका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरुबीच प्रतिस्पर्धा हुने भएको छ ।

६ वैशाख २०८० मा बढुवा भएकाहरुबाट कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रवीन्द्र केसी, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्य, अर्जुन चन्द ठकुरी लगायत एआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।

त्यसैगरी, माधवप्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिपसिंह देउवा, बिनोद घिमिरे, सुदर्शनप्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराम सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जय शर्मा दास, शारदाप्रसाद चौधरी पनि डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् ।