एमालेलाई जग्गा दिने मीनबहादुरविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

एमालेलाई जग्गा दिने मीनबहादुरविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाडौं, ७ कात्तिक । विवादास्पद व्यवसायी मीनबहादुर गुरुङले नेकपा एमालेलाई जग्गादान गरेको विषयमा सर्वोच्च अदालतमा रिट दर्ता हुने भएको छ ।

अधिवक्ता ज्ञान बस्नेतले दायर गरेको सार्वजनिक सरोकारको मुद्दा सर्वोच्चका रजिस्ट्रार भद्रकाली पोखरेलले दरपीठ गरेका थिए । यद्यपी, दरपीठविरुद्ध परेको उजुरी उपरको सुनुवाईमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले मुद्दा दर्ता गर्न आदेश दिएको हो ।

सर्वोच्च प्रशासनले एमाले पार्टी कार्यालय दान लिनेदिने बारेमा रिट निवेदकको अर्थपूर्ण सम्बन्ध नरहेको बताउँदै दरपीठ आदेश जारी गरेको थियो ।

तर निवेदकले रिट दिन पाउने वा नपाउने विषय इजलासबाटै टुंगो लाग्ने भन्दै न्यायाधीश श्रेष्ठको इजलासले दर्ता गर्न आदेश दिएको हो ।

भ्रष्टाचारमा दोषी ठहर भएका मीनबहादुर गुरुङबाट प्रधानमन्त्रीको रुपमा सार्वजनिक पद धारण गरेको व्यक्तिले जग्गा दिन लिनु भ्रष्टाचार निवारण ऐन र राजनीतिक दलसम्बन्धी ऐन विपरीत भएको जिकिर रिटमा गरिएको छ ।