सबै सरकारी कार्यालयहरूमा डेंगु नियन्त्रणका लागि सरसफाई अभियान
काठमाडौं, ९ कात्तिक । सरकारले डेंगु महामारीका रुपमा फैलन नदिन सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ ।
हिजो (बिहीबार) साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो ।
सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदबाट उक्त निर्णय भएको जानकारी दिए ।
‘डेंगु फैलन नदिन पानी जम्ने ठाउँ, मोटर ग्यारेज, कवाडी स्टोरलगायत जोखिम भएका स्थानमा सरसफाइ अभियान सुरु गर्ने स्वासथ्य मन्त्रालयको प्रस्तावअनुसार नै डेंगु नियन्त्रण अभियान सञ्चालन गर्ने निर्णय भएको हो’, उनले भने ।
यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयबमोजिम आज बिहान १० बजे आ–आफ्ना कार्यालय परिसरमा सरसफाइ गरी डेंगु नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशन समेत दिएको जनाएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशका केही जिल्लामा डेंगुको प्रभाव कायम रहेकाले त्यसको नियन्त्रणमा लाग्न सबैमा अनुरोध गरेका छन् ।