अवरुद्ध रेसुङ्गा विमानस्थलमा एक महिनापछि पुनः उडान सुरु
गुल्मी, ९ कात्तिक । गुल्मी जिल्लाको रेसुंगा विमानस्थलबाट एक महिनापछि फेरि उडान सुरु भएको छ ।
रेसुंगा नगरपालिका–१० को सिमीचौरमा रहेको उक्त विमानस्थलमा मौसम गडबडीका कारणले असोज ४ गतेदेखि लगातार उडान अवरुद्ध हुँदै आएकोमा पुनः सञ्चालनमा ल्याइएको हो ।
नेपाल एयरलाइन्स रेसुंगा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले मौसममा सुधार आएको भन्दै बुधबार र शुक्रबार उडान सुरु गरिएको जानकारी दिए ।
चाडपर्वको समयमा लगातार उडान अवरुद्ध हुँदा नागरिकले सेवा लिन पाएका थिएनन् ।
रेसुंगा विमानस्थलका लागि काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने गरेको छ ।
अहिले गुल्मीबाट काठमाडौंका लागि ७ हजार ८० र काठमाडौंबाट गुल्मीका लागि ७ हजार २८० रुपैयाँ भाडा कायम गरिएको छ ।