नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई महासंघ अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न अमेरिकी व्यवसायीलाई महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौँ, ९ कात्तिक ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य रहेकोमा जोड दिँदै यहाँ लगानी गर्न अमेरिकी व्यवसायीलाई विशेष आग्रह गरेका छन् ।

अमेरिकाको वासिंगटनमा युएस चेम्बर अफ कमर्शद्वारा  आयोजित कार्यक्रमलाई सम्बोधन  गर्दै अध्यक्ष ढकालले नेपाली र विदेशी बजार समेतलाई  हेरेर नेपालमा लगानी गर्न आग्रह गरेका  हुन् । 

अध्यक्ष ढकालले पछिल्लो तीन दशकमा भएको बजार वृद्धि, भारत लगायत बिकसित मुलुकमा प्राप्त भन्साररहीत पहुँच एवं उर्जा खरिद बिक्रि सम्झौता लगायतका कारण नेपाल विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य वन्ने बताए । 

उनले नेपालमा उत्पादन गरि यहाँको बजारसंगै विश्व बजारमा बिक्री गर्न सकिने सम्भावना तर्फ लगानीकर्ताको ध्यानाकर्षण समेत गराए ।

यसैगरी, भारतसंग भएको दश हजार मेगावाट बिजुली खरिद सम्झौता र हालै बंगलादेशसंगको समझदारीले जलविद्युतमा अपार सम्भावना देखिएको जानकारी पनि अमेरिकी लगानीकर्ताहरुलाई गराए । 

नेपाल प्रकृति र संस्कृतिको मिश्रणले पर्यटकहरुलाई आकर्षित गर्ने बताउँदै पर्यटन पुर्वाधारमा लगानी गर्न पनि अध्यक्ष ढकालले आह्वान  गरे ।

संसारको सबैभन्दा बढि जनसंख्या रहेको भारतीय सिमाबाट औसत दुइ घण्टाको दुरीमा शीतल र स्वस्थ वातावरण सहितको हिलस्टेसन बिकास गर्न सकिने सम्भावना उनले लगानीकर्ताहरुलाई देखाए ।

यस्तै, लगानी सहजीकरणका लागि महासंघले एफडिआइ हेल्प डेस्क स्थापना गरेको जानकारी दिंदै अध्यक्ष ढकालले आवश्यक सहजीकरण गर्नेबारे लगानीकर्तालाई आश्वस्त समेत पारे । 

महासंघले एफडिआइ हेल्पडेस्क मार्फत सहजीकरण गरिरहेको छ ।

नेपालमा पर्याप्त विदेशी मुद्राको संचिति रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले लगानीको जोखिम न्युन हुँदै गएको बताए । साथै सरकारले कानुन सुधार र द्धिपक्षीय लगानी सम्झौताको खाका तयार पारेको पनि उनले जानकारी गराए ।

अध्यक्ष ढकाल विश्व बैंकको बार्षिक वैठकमा सहभागी हुने क्रममा वासिंगटनमा रहेका छन् । यसअघि उनले अन्तर्राष्टिय वित्त निगमका उच्च अधिकारीहरुसंग पनि भेटघाट गरेका छन् ।