माओवादीले थालेको सुशासनको रेकर्ड कसैले मेटाउन सक्ने छैन: प्रचण्ड

माओवादीले थालेको सुशासनको रेकर्ड कसैले मेटाउन सक्ने छैन: प्रचण्ड

काठमाडौँ, ११ कात्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले नेपालमै सुशासन कायम गर्ने सवालमा ऐतिहासिक रेकर्ड  बनाएको दाबी गर्दै यसलाई कसैले मेटाउन नसक्ने बताएका छन् । 

माओवादी केन्द्र बागमती, उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश समितिले शनिबार काठमाडौंमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिकाको पक्षमा थालेको अभियान नेपालकै लागि पहिलो रेकर्ड कायम गरेको बताएका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त पक्राउ गरेपछि अत्तालिएर सरकार ढालिएको अध्यक्ष प्रचण्डको आरोप थियो । अहिलेको सरकार भ्रष्टाचारीलाई बचाउनकै लागि बनेको उनले बताए।

उनले चार दिनको तयारीले गरिएको खबरदारी सभाले सरकार तर्सेको बताउँदै भोलि ठुलै विरोधसभाको तयारी गरे सरकारको हालत के होला भनेर प्रश्न समेत गरे।

उनले आफूहरूले जनताका मुद्दालाई ज्ञापनपत्रको रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै त्यसलाई गम्भीरतापूर्वक नलिए आन्दोलनका स्वरुपलाई थप प्रभावकारी बनाउँदै लैजाने चेतावनी दिए ।