कांग्रेस–एमालेलाई प्रचण्डले भने– सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ

कांग्रेस–एमालेलाई प्रचण्डले भने– सरकार फेर्न हतार छैन, ढुक्कसँग चलाए हुन्छ

काठमाडौं, ११ कात्तिक । प्रमुख प्रतिपक्षी नेता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले सरकार ढाल्ने गरी आन्दोलन नगरेको स्पष्ट पारेका छन् ।

शनिबार काठमाडौंमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले माओवादीले सरकार फेर्न हतार गर्‍यो भन्ने भ्रम छ भने फाल्न आग्रह गरेका हुन् ।

‘माओवादीले सडकबाट सरकार फेर्न हतारो गरेको छ भन्ने बुझ्नुभएको छ भने तपाईंहरु भ्रममा हुनुहुन्छ, त्यो भ्रम फाल्नुस्’, उनले भने ।

कांग्रेस र एमालेसँग विगतमा सत्ता सहकार्य गरेर गल्ती गरेको अध्यक्ष प्रचण्डको भनाई थियो ।

‘तपाईंहरुजस्ता पार्टीहरु यो देशका दलाल, पुँजीपति भ्रष्टहरुको प्रतिनिधि हुनुहुन्छ, केही समय तपाईहरुसँग सहकार्य गरेर गल्ती गर्‍यौं, तपाईहरुको रोग हामीलाई पनि सर्‍यो’, उनले भने ।

अब आफूहरु प्रधानमन्त्री र मन्त्री बनाइदिनुस् भन्दै नआउने अध्यक्ष प्रचण्डले बताए । ‘तपाईहरुले ढुक्कसँग चलाए हुन्छ सरकार, माओवादी आउँछ कि भन्ने टेन्सन नलिए हुन्छ’, उनले भने ।