कास्की प्रहरीले भन्यो– भ्रमपूर्ण विचार र सूचना सामाजिक सञ्जालमा सम्प्रेषण नगर्नू
काठमाडौँ, ११ कात्तिक । जिल्ला प्रहरी कार्यालय कास्कीले टिकटक लगायत सामाजिक सञ्जालमा भ्रामक विचार, सूचना, समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
आइतबार सूचना अधिकारी डिएसपी बसन्तकुमार शर्माले एक विज्ञप्ति मार्फत भ्रामक एवं झुट्टा समाचार, गलत सूचना सम्प्रेषण नगर्न आग्रह गरेका हुन् ।
‘तथ्यहीन, भ्रामक एवं झुट्टा समाचारहरूबाट जनमानसमा गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा समेत नकारात्मक प्रभाव पर्ने हुनाले तथ्यमा आधारित रहेर मात्र सूचना सम्प्रेषण गर्न, गराउनु हुन सम्पूर्णमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा अनुसन्धानकै क्रममा रहेका रास्वपा सभापति रवि लामिछानेलाई कात्तिक ८ गते म्याद थप गराउन लैजाँदा भ्रमक सूचनाहरू आएको कार्यालयले जनाएको छ।
प्रहरी कर्मचारीले इजलासमा आदरार्थी शब्द प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्क्याएको एवं प्रहरी हिरासतमा समेत दुर्व्यवहार गरेको भन्ने भ्रामक सूचनाहरू बाहिरिएको विज्ञप्तिमा भनिएको छ ।
यस्ता समाचारहरू आएको भन्दै सुनेको कसैले भनेको, सुनेको तथ्यहिन कुराहरूलाई सम्प्रेषण नगरी सही, सत्य र तथ्यमा आधारित सूचना, समाचार र सन्देश मात्र सम्प्रेषण गर्न कास्की प्रहरीले अनुरोध गरेको हो ।