एनआरएनए भित्र राजनीति नगरौं: प्रधानमन्त्री ओली
काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री केपी शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्र राजनीति नगर्न अनुरोध गरेका छन् । उनले राजनीतिक दलका आआफ्नै संगठनहरु भए पनि संस्थाभित्र राजनीति नगर्न आग्रह गरेका हुन् ।
‘पोलिटिकल पार्टीका आफ्नै संगठनहरु होलान्, त्यल्ले आफ्नो काम आफैं गर्ला, यस संगठन भित्र पोलिटिकल ‘टग अफ वार’ नगरौं ।’ एनआरएनए दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने ।
‘यसको समस्याको समाधान कसरी गर्ने हो म भन्न चाहन्छु तपाईंहरुलाई तपाईंहरुले नै सुझाव गर्नुस्, यो–यो गरिदिनुस् भनेर, हामी गर्छौं’, उनले भने, ‘हामीलाई यसबाट न सावाँ बढाउनु छ न ब्याज कमाउनु छ ।’
विकासका लागि पूर्वाधार तयार भइसकेकाले एकजुट भएर काम गरेमा नेपालको विकास सम्भव हुनेमा प्रधानमन्त्री ओलीले जोड दिए ।