चिनियाँ कम्पनीले पायो 'चुच्चे नक्सा' सहितको १०० दरको नयाँ नोट छाप्ने जिम्मा
काठमाडौं, ११ कात्तिक । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मेवारी चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा सहित पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकलाई १०० रुपैयाँ दरको नोटको डिजाइन परिर्वतन गर्न मन्त्रिपरिषद्ले गत वैशाखमा स्वीकृति दिएको थियो ।
७ जेठ २०७७ मा संविधान संशोधन मार्फत नेपालले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितका भू–भाग समाविष्ट गरेर नेपालको नयाँ नक्सा जारी गरिएको थियो ।
१०० रुपैयाँ दरको नेपाली नोटमा नेपालको नक्सा अंकित भएकोले डिजाइन संविधान संशोधनसँगै १०० रुपैयाँ दरको नोटको डिजाइन समेत परिवर्तन गर्नुपर्ने भएको थियो ।
अब डिजाइन परिवर्तन गरी चुच्चे नक्सा अंकित १०० दरको नयाँ नोट छपाइ गरी नेपाल राष्ट्र बैंकलाई डेलिभरी गर्ने जिम्मा चिनियाँ कम्पनीले पाएको हो ।
आज (आइतबार) एक सूचना सार्वजनिक गर्दै चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसनले नोट छाप्ने टेन्डर प्राप्त गरेको राष्ट्र बैंकले जनाएको छ ।