नर्सिङ लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण
काठमाडौं, १२ कार्तिक । नेपाल नर्सिङ परिषद्ले शनिबार लिएको ३७ औँ नर्सिङ नाम दर्ता (लाइसेन्स) परीक्षामा ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।
पीसीएल र बीएस्सी नर्सिङ गरी कुल १ हजार २४९ जना परीक्षार्थीमध्ये ५ सय जना उत्तीर्ण भएका परिषद्का रजिष्ट्रार शुक्ला खनालले जानकारी दिए ।
पीसीएल नर्सिङतर्फ ९८३ जनाले फारम भरेका थिए । जसमध्ये ९५५ जनाले मात्र परीक्षामा सहभागी भएका थिए। यसमध्ये ३३१ जना (३४.६९ प्रतिशत) उत्तीर्ण भएका छन् ।
त्यस्तै ,बीएस्सी नर्सिङतर्फ २९८ जनाले फारम भरेकोमा २९४ जनाले जाँचमा सहभागिता जनाएका थिए । जसमध्ये १६९ जना (५७.४८ प्रतिशत) उत्तीर्ण भएका छन् ।
उत्तीर्ण परीक्षार्थीहरूलाई कात्तिक २५ गतेदेखि प्रमाणपत्र वितरण गर्ने परिषद्ले बताएको छ । त्यसका लागि १ हजार २ सय रुपैयाँ शुल्क परिषद्ले तोकेको छ ।
परिषद्ले पुनर्योगका लागि इच्छुक परीक्षार्थीहरूले ३५ दिनभित्र निवेदन दिन सक्ने जनाएको छ ।