गृहमन्त्री लेखकले भने– सरकार कुनैपनि अनुसन्धानमा मानिसको मुख होइन, तथ्य र प्रमाण हेर्छ

गृहमन्त्री लेखकले भने– सरकार कुनैपनि अनुसन्धानमा मानिसको मुख होइन, तथ्य र प्रमाण हेर्छ

काठमाडौँ, १२ कात्तिक । गृहमन्त्री रमेश लेखकले कुनैपनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा अगाडि बढ्ने स्पष्टोक्ति दिएका छन् ।

आज (सोमबार) संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले तथ्य र प्रमाणका आधारमा अपराधजन्य कार्यहरूको अनुसन्धान हुने स्पष्ट पारेका हुन् ।

‘अपराधजन्य कार्यहरू भ्रष्टाचार होस् या ठगी गर्ने सबै मानिसमाथि अनुसन्धान हुन्छ । हुनुपर्छ ।  कसैलाई काखापाखा हुँदैन । सत्तापक्ष र प्रतिपक्ष भनेर हेरिँदैन’, गृहमन्त्रीले लेखकले भने,  ‘कुनैपनि आपराधिक कार्यको अनुसन्धान, मानिसको मुख होइन तथ्य र प्रमाण हेरेर कारबाही गरिन्छ ।’ 

रास्वपा सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा सहकारी ठगी प्रकरणमा पक्राउ गरेर थुनेको भनेर प्रचारबाजी भइरहेको तर्फ इंकित गर्दै गृहमन्त्री लेखकले यस्तो स्पष्टीकरण दिएका हुन् ।

उनले प्रमाण जताजता जान्छ र त्यतैत्यतै अनुसन्धान हुने र भइरहेको दाबी समेत गरे ।

सरकारले गर्ने अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुने बताउँदै उनले न्यायालयको अनुमति लिनुपर्ने बेलामा न्यायालयको समेत अनुमति लिएर सरकारले आफ्ना कदम चालेको उनको भनाइ छ ।