एमाले चुनाव लक्षित मिसन: हरेक मतदाताको राजनीतिक पक्षधरता पत्ता लगाउने

एमाले चुनाव लक्षित मिसन: हरेक मतदाताको राजनीतिक पक्षधरता पत्ता लगाउने

काठमाडौं, १२ कात्तिक । सरकारको नेतृत्वमा रहेको नेकपा एमालेले हरेक मतदाताको राजनीतिक आवद्धता विवरण संकलन गर्ने तयारी थालेको छ । 

राजनीतिक शक्ति सन्तुलन पत्ता लगाउन हरेक घरको मतदाता विवरण र तिनको राजनीतिक आवद्धता संकलन गर्ने तयारीमा एमाले जुटेको हो।

आगामी चुनाव–०८४ मा निर्णायक राष्ट्रिय शक्ति बन्ने लक्ष्य बनाएको एमालेले प्रत्येक मतदाताको राजनीतिक आवद्धता विवरण तयार गर्न लागेको हो । 

एमाले संगठन विभागको योजना अनुरुप हरेक वडामा राजनीतिक पक्षधरता विवरण संकलन अभियान सञ्चालन गर्न लागिएको हो । 

‘महासचिव शंकर पोखरेलसहितको उपस्थितिमै भएको संगठन विभागको बैठकले यस्तो अभियान सञ्चालन गर्ने निर्णय गरेको हो’, संगठन विभाग सदस्य समेत रहेका  विशाल भट्टराईले भने ।

अभियानको उद्देश्य पार्टीको कमजोरी पत्ता लगाउनु रहेको भट्टराई बताउँछन् । 

उपचुनाव हुने बाहेकका क्षेत्रमा भने आगामी फागुन र चैतमा यो अभियान चल्ने भट्टराईले जानकारी दिए ।

कूल  मतदाताको ६ प्रतिशत पार्टी सदस्य बनाउने लक्ष्य एमालेले लिएको छ । अगामी आमचुनावसम्म एमालेले ५ लाख नयाँ सदस्य थप्ने लक्ष्य राखेको छ ।

गत आमचुनाव–०७९ मा एक करोड ७९ लाख ७८ हजार मतदाता रहेकाले यसको ६ प्रतिशत अर्थात् १० लाख पार्टी सदस्य बनाउनुपर्ने लक्ष्य महासचिव पोखरेलले प्रस्तुत गरेका थिए ।