एमालेको जग्गा विवाद: सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, दानको जग्गा हक हस्तान्तरण नगर्नू

एमालेको जग्गा विवाद: सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश, दानको जग्गा हक हस्तान्तरण नगर्नू

काठमाडौं, १२ कात्तिक । सर्वोच्च अदालतले सत्तारुढ नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश जारी गरेको छ । 

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले उक्त विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलका लागि बोलाएको छ । 

अन्तरिम आदेशका लागि हुने उक्त छलफल अगाडि पार्टी कार्यालयलाई दानमा दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश सर्वोच्चले जारी गरेको हो ।

आदेशको लिखित रुप प्राप्त भइनसकेको सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइकेलले बताए ।

जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन सर्वोच्चले माग समेत गरेको छ । 

दशैंको फुलपातीको दिन व्यवसायी मीनबहादुर गुरुङले आफूले एमालेलाई जग्गा दान दिएको र एक वर्षभित्र भवन समेत बनाइदिने बाचा गरेका थिए ।

सो घटना सार्वजनिक भएपछि एमालेको तीव्र आलोचना भएको थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत ३ जनाले निर्णय खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।