बालुवाटारबाट रास्वपाका एक दर्जन नेता-कार्यकर्ता पक्राउ
काठमाडौं, १३ कात्तिक । बालुवाटारमा जम्मा भएर सरकारविरुद्ध प्रदर्शन गर्न खाजेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेका छन् ।
पार्टी सभापति रवि लामिछाने सहकारी रकम हिनामिना प्रकरणमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम तय गरेको थियो । उक्त कार्यक्रमका लागि बालुवाटार स्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु जम्मा भएका थिए ।
नेपाल हाउस क्षेत्रलाई समेत प्रहरीले निषेधित क्षेत्र ताकिएको थियो । त्यहाँबाट आफूहरु निस्किँदै गर्दा प्रहरीले पक्राउ गरिएको रास्वपाका नेताहरुले बताएका छन् ।
कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप विष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का लगायत ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
बाहिर पठाएपछि त्यहाँ उनीहरुले सरकारले धरपकड गरेको भन्दै नाराबाजी गरिरहेका छन् ।
आजको विरोध प्रदर्शनलाई रचनात्मक बनाउने बताउँदै रास्वपाले नारा, गीत, कविता, ब्यंग्य, मन्तव्य प्रस्तुत गर्ने भनेको थियो। कार्यक्रमलाई उपसभापति डा.स्वर्णिम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, संसदीय दलका प्रमुख सचेतक सन्तोष परियार र सांसद सोविता गौतमले सम्बोधन गर्ने तयारी थियो ।
१२ बजेदेखि साढे २ बजेसम्म हुने प्रदर्शनको उपसभापति डीपी अर्यालले समापन गर्ने तय गरिएको थियो । यद्यपी, प्रहरीले हस्तक्षेप गरेपछि उनीहरुको पूर्वनिर्धारित कार्यक्रम प्रभावित बनेको छ ।
सभापति लामिछाने कास्की प्रहरीको हिरासतमा छन् । रास्वपाले राजनीतिक प्रतिशोध राखेर उनलाई फसाउन खोजेको आरोप लगाउँदै आएको छ ।