सशस्त्र प्रहरीलाई सीमाको 'डेडिकेटेड फोर्स' बनाइन्छ : गृहमन्त्री
काठमाडौं, १३ कात्तिक । गृहमन्त्री रमेश लेखकले सशस्त्र प्रहरी बल नेपाललाई सीमाको ‘डेडिकेटेड फोर्स’ बनाइने बताएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बल नेपालको निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बोर्डर आउटपोस्ट (बीओपी) हरुको स्थापना गर्न लागिएको बताएका हुन् ।
‘सशस्त्र प्रहरी बल, नेपाललाई सीमाको डेडिकेटेड फोर्स बनाउन मन्त्रालय लागि परेको छ । यसका लागि अन्तर्राष्ट्रिय मापदण्डसहितको थप बीओपीहरुको स्थापना, मौज्दुता बीओपीहरुको स्तरवृद्धि गर्दै समग्र संगठनलाई प्रविधिमैत्री एवं चलायमान बनाउनेतर्फ मन्त्रालय प्रयासरत रहेको छ’, उनले भने ।
उनले सशस्त्र प्रहरी बल नेपालको कानून परिवर्तन गर्न लागिएको बताउँदै यसले सशस्त्र प्रहरीलाई थप सबल, सक्षम र व्यवसायिक बनाउने समेत उनले बताए ।