सांसद दीपक मनाङ्गेले भने– फैसलाको पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु
काठमाडौं, २३ कात्तिक । गण्डकी प्रदेश सभाका सांसद राजिव गुरुङ (दीपक मनाङ्गे) ले आफूविरुद्धको मुद्दाको पूर्णपाठ आएपछि मात्रै अदालतमा उपस्थित हुने बताएका छन् ।
व्यक्ति हत्याको प्रयासको अभियोगमा सर्वोच्च अदालतले उनलाई ५ वर्ष कैद सजाय गर्ने पुनरावेदन अदालत, पाटनको फैसला सदर गरेपछि फोन स्विच अफ गरी उनी सम्पर्कविहीन बनेका थिए ।
शुक्रबारको मितिमा एक विज्ञप्ति जारी गरेर उनले सर्वोच्चबाट फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि मात्रै अदालतमा उपस्थित हुने प्रतिक्रिया व्यक्त गरेका हुन् ।
‘(फैसला) पश्चात मेरा कानून व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाएँ तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्, ‘सर्वोच्च अदालतबाट फैसलाको पूर्णपाठ लिखित रुपमा प्राप्त भएपछि अदालतमा म स्वयम् उपस्थित हुने कुरा जानकारी गराउन चाहन्छु ।’
पाँच वर्ष कैद सजाय ठहर भएका गुरुङले यसअघि नै दुई वर्ष ८ महिना कैद भोगिसकेका छन् । उनले अब थप २ वर्ष ४ महिना कैद बस्न बाँकी छ ।
सर्वोच्च फैसलापछि उनको खोजी थालेको प्रहरीले ‘स्विच अफ गरेर सम्पर्कविहीन भएको’ जनाएको थियो ।