पाथीभरामा केबलकार, विवादित अवस्थामै शिलान्यास गर्न खोज्दा स्थानीयबीच झडप
काठमाडौं, २३ कात्तिक । पूर्वी नेपालको प्रसिद्ध पाथीभरा जाने केबलकार बनाउनका लागि तय गरिएको शिलान्यास कार्यक्रमलाई अर्को पक्षले अबरोध गर्न खोजेपछि झडप भएको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका अनुसार शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन निर्माण गर्न शिलान्यास कार्यक्रम गर्ने तयारी गरिएको थियो ।
उक्त कार्यक्रममा सहभागी हुन नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनसहित कार्यक्रम स्थल पुगेका थिए ।
तर, कार्यक्रम सुरु भएसँगै पाथीभरामा केबलकार निर्माण गर्न दिनु हुँदैन भन्ने समूहका व्यक्तिहरुले ढुंगा हान्न थालेको फुङलिङ नगरपालिकाका मेयर मादेनले बताए । ‘उनीहरु अग्लो ठाउँमा बसेका थिए, त्यहाँबाट तल ढुंगा हान्दा केही प्रहरी साथीहरु पनि लाग्यो’, मेयर मादेनले, ‘यद्यपि, स्काभेटर चलाएर केबलकार शिलान्यास गरिसकेका छौं ।’
पाथीभरामा केबलकार बनाउने विषयमा विगत लामो समयदेखि विवाद हुँदै आइरहेको थियो । तर, पछिल्लो समय पाथीभरा केबलकार कम्पनीले ठेक्का पाएपछि निर्माण कार्य थालनीको प्रयास गरिएको थियो ।
प्रहरीले एक्जाभेटरको चाबी लगेपछि विवाद बढेको प्रत्यक्षदर्शी हेमराज निरौलाले बताए । ‘निर्माण पक्षले चाबी माग्दै गर्दा माथिपटिबाट ढुंगा बर्सियो, त्यसपछि त दुवै पक्षबीच हात हालाहाल भइहाल्यो,’ प्रत्यक्षदर्शी निरौलाले भने, ‘दुवै पक्षतर्फ घाइते भएका छन् ।’