मितेरी सहकारी ठगी प्रकरणः ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध इन्टरपोलमा 'रेड नोटिस' जारी

मितेरी सहकारी ठगी प्रकरणः ज्योति गुरुङ र ज्योति भण्डारीविरुद्ध इन्टरपोलमा 'रेड नोटिस' जारी

काठमाडौं, २३ कात्तिक । ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा ज्योति गुरुङ र ज्योतिबहादुर भण्डारीविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी गरिएको छ ।

प्रहरी स्रोतका अनुसार, प्रहरी प्रधान कार्यालय, नक्सालमा रहेको नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी) को सिफारिसका आधारमा इन्टरपोलको फ्रान्समा रहेको हेडक्वार्टरले दुई जनाविरुद्ध रेड नोटिस जारी गरेको हो । 
यस सहकारी अनियमितता प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गुरुङ र भण्डारीको खोजीका लागि इन्टरपोलमा रेड नोटिस जारी गरिदिन भन्दै एनसीबीलाई पत्र पठाएको थियो ।

 उनीहरू विदेशमा भएको आशंकासहित इन्टरपोलमार्फत खोजी गर्ने प्रक्रिया अघि बढाइएको ब्यूरोका एसपी होविन्द्र बोगटीले जानकारी दिए । इन्टरपोलबाट नोटिस जारी भएपछि अब उनीहरुको इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनीहरुको खोजी गर्नेछन् ।

सत्तासीन दल नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नी समेत हुन् । सहकारी ठगी विवाद आएपछि उनीहरुले कागजी सम्बन्धविच्छेद गरेको आरोप लाग्ने गरेको छ । छानबिनका क्रममा सम्बन्धविच्छेद भएपछि पनि गुरुङले सहकारीको ऋण चुक्ता गरेको पाइएको छ ।  

यस्तै, अर्का आरोपी ज्योतिबहादुर भण्डारी भने सहकारीका सदस्य पनि थिएनन् । तर, उनलाई ऋण प्रवाह गरेको भेटिएको प्रहरी स्रोतले बतायो । 

सहकारी रजिष्टारको कार्यालय बागमतीले पत्र पठाएपछि सीआईबीले यस सहकारीको रकम अनियमितता सम्बन्धमा अनुसन्धान सुरु गरेको थियो ।