रवि लामिछानेलाई आजै रूपन्देही ल्याउने तयारी, भोलिदेखि बयान
बुटवल, २६ कात्तिक । सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखराबाट रुपन्देही ल्याउने तयारी भएको छ ।
लामिछानेलाई सकभर आज (सोमबार) साँझ नभए भोलि (मंगलबार) बिहान विमानबाट भैरहवा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले जानकारी दिए ।
‘आज सोमबार नै ल्याउने तयारी थियो तर प्लेनको फ्लाइट शेड्युल चेन्ज भएको रहेछ, मिल्यो भने आज साँझ नभए भोलि बिहान (मंगलबार) ल्याउने निश्चित भएको छ,’ एसपी राठौरले भने ।
सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान गरिरहेको प्रहरीले त्यहाँ अनुसन्धान नसक्दै रुपन्देहीको सुप्रिम सहकारीमा भएको अनियमितताको अनुसन्धान गर्न रुपन्देही प्रहरीले उनलाई ल्याउन लागेको हो ।
पोखराबाट भैरहवा ल्याएपछि लामिछानेसँग बयान लिने तयारी छ ।