कालिकोट दुर्घटना : पलाँता गाउँपालिकामा आज शोक बिदा
सुर्खेत, २६ कात्तिक । कालिकोट जिप दुर्घटनामा निधन भएकाको सम्झनामा पलाँता गाउँपालिकाले आज (सोमबार) शोक बिदा दिएको छ । आइतबार पलाँता गाउँपालिका–३ मा भएको जिप दुर्घटनामा ७ जनाको निधन भएको थियो ।
उक्त दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा पलाँता गाउँपालिकाले शोक विज्ञप्ति जारी गर्दै पालिकासहित मातहतका सबै कार्यालयलाई शोक बिदा दिइएको हो ।
‘जिल्ला नै स्तब्ध हुने गरी दुर्घटना भयो, मृतकको सम्झनामा एक दिने शोक बिदा दिएका छौं ।’ गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर रोकायाले भने ।
उक्त दुर्घटनामा चालकसहित ७ जनाको मृत्यु भएको थियो भने १३ घाइते भएका थिए । घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ ।