वैदेशिक रोजगारीको नाममा १२ लाख ठगी , काठमाडौँबाट ३ जना पक्राउ

वैदेशिक रोजगारीको नाममा १२ लाख ठगी , काठमाडौँबाट ३ जना पक्राउ

काठमाडौँ, २७ कात्तिक । वैदेशिक रोजगारमा लैजाने भनी ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिरूवा गाउँपालिका–१ स्याङ्जा घर भई काठमाडौं महानगरपालिका–३१ बानेश्वर बस्ने ५० वर्षीया कमला कुमारी केसी, बडिगाड गाउँपालिका–९ बाग्लुङ घर भई भक्तपुर सुर्यविनायक नगरपालिका–२ बालकोट बस्ने २२ वर्षीया सीता बुढा र मेचीनगर नगरपालिका–१० झापा घर भई कामपा–२६ नयाँबसपार्क बस्ने २६ वर्षीय मनिश खड्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेका मध्ये केसीले क्रोएसिया पठाइदिन्छु भन्दै चार जनाबाट आठ लाख २५ हजार, बुढाले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख र खड्काले क्रोएसिया पठाइदिन्छु भन्दै एक जनाबाट दुई लाख २५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, काठमाडौँ महानगरपालिका–४ चप्पल कारखानास्थित एक घरमा जुवातास खेलिरहेको अभियोगमा आठ जनालाई गए राती प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरूको साथबाट नगद रु ७९ हजार चार सय ६५ रूपैयाँ र आठ बुक ताससमेत बरामद गरेको छ ।