गण्डकीका पूर्वमन्त्री मनाङेलाई सीआईबीबाट अदालत लगियो
काठमाडौं, २७ कात्तिक । काठमाडौंबाट पक्राउ परेका गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङेलाई प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)बाट अदालत लगेको छ ।
स्रोतका अनुुसार, अदालतमा उपस्थित गराएपछि उनलाई कारागार चलान गर्ने तयारी गरिएको छ ।
काठमाडौं सानोभर्याङको कम्फर्ट हाउजिङबाट उनलाई सीआईबीको टोलीले आज (मंगलबार) बिहान पक्राउ गरेको थियो ।
उनलाई सर्वोच्च अदालतले कात्तिक २० गते ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।
न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेर २०६९ सालमा ५ वर्ष कैद सजायको फैसला गरेको थियो ।
सर्वोच्चले पनि दोषी ठहर गरेपछि मनाङेविरुद्ध पक्राउ पुर्जी जारी गरिएको थियो ।