पूर्वमन्त्री लिलाबल्लभ मुछिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ
काठमाडौं, २७ कात्तिक । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको मानव तस्करी तथा कीर्ते प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनीहरुले जापान जनालाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको प्रहरी भनाइ छ ।
मन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा भाग लिन भन्दै ११ कात्तिकमा जापान गएका थिए ।
तर, उनीसँगै जापान गएका खोटाङको केपीलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए ।
त्यसक्रममा यस प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे समेत पक्राउ परेका थिए । पछि यस मामलामा पूर्वमन्त्री अधिकारीलाई पनि पक्राउ गरिएको थियो ।
जापान उड्ने दिन नै प्रकरणका आरोपीहरुले राईद्वयलाई भेटेर परिचय पत्र बनाउन लगाएको प्रहरी स्रोतको दाबी छ । उनीहरुले सुरुमा आरोप अस्वीकार गरेपनि मोबाइलमा सर्च गरेर हेर्दा नक्कली परिचय पत्र फेला परेको प्रहरीको भनाइ छ ।
यस प्रकरणमा थप अनुसन्धान प्रक्रिया चलिरहेको प्रहरीले जनाएको छ ।