मानव तस्करीमा पक्राउ परेका कोशीका पूर्वमन्त्री अधिकारीलाई अदालत लगियो
काठमाडौं, २७ कात्तिक । मानव तस्करीमा जोडिएका कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले जिल्ला अदालत, काठमाडौं उपस्थित गराएको छ ।
मानव तस्करी तथा सरकारी लिखत कीर्तेको कसुरमा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद माग्न प्रहरीले अधिकारीलाई अदालत लगेको हो । आइतबार पक्राउ परेका अधिकारीलाई यसअघि २ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो ।
यसपटक थप १० दिन हिरासतमा राख्न अनुमति मागिने जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंका एक अधिकारीले जानकारी दिए ।
सोही घटनामा सोमबार पनि दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका गुढी राई र नविन राई छन् ।
त्यसक्रममा यो प्रकरणमा संलग्नता देखिएपछि नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे समेत पक्राउ परेका थिए ।
पछि यो मामलामा पूर्वमन्त्री अधिकारी पनि पक्राउ परेका थिए ।