डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोड्ने प्राधिकरणको निर्णय

डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोड्ने प्राधिकरणको निर्णय

काठमाडौं, २७ कात्तिक । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले डेटिकेटड तथा ट्रंक लाइन विवादमा काटिएका विद्युत् लाइन जोडिदिने निर्णय गरेको छ ।

आज (मंगलबार) बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको एक बोर्ड सदस्यले जानकारी दिए ।
यसअघि प्राधिकरणले गत ८ कात्तिकमा बक्यौता विवाद रहेका सबै उद्योगको लाइन काटिदिएको थियो ।

‘टाइम अफ डे’ (टीओडी) डाटा तथा तत्काल प्रचलित कानुन बमोजिम १५ दिनभित्र यो विवादको बक्यौता असुली गर्ने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको थियो ।

डेडिकेटेड र ट्रंक लाइन विवादमा काटिएको उद्योगहरूको लाइन जोड्न निर्देशन दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले  गरेकोमा त्यसको कार्यान्वयनको निर्णय बोर्ड बैठकले गरेको बताइएको छ । 

स्रोतका अनुसार, डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गर्ने ग्राहकहरूले खपत गरेको विद्युतको बक्यौता रकम टीओडी समेतका आधारमा महसुल निर्धारण तथा असुलीसम्बन्धी तत्काल प्रचलित कानुन बमोजिम गणना गरी १५ दिनभित्र असुल उपर गर्ने निर्णय पनि प्राधिकरण बोर्ड बैठकले गरेको छ ।

२४ घण्टाभित्र उद्योगहरूमा लाइन जोडिदिने निर्णय कार्यान्वयन गर्न ऊर्जा मन्त्रालयले पठाएको पत्र प्राधिकरणमा सोमबार अपराह्न ५ बजेर १५ मिनेटमा दर्ता भएकाले मंगलबार ५ः१५ बजेभित्र लाइन जोडिसक्नु पर्नेछ ।

तर, सञ्चालक समितिको बैठकको निर्णयमा हस्ताक्षर गरे पनि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्णय कार्यान्वयनमा अनिच्छा जनाउँदै आएका छन् ।