अन्तर्वार्तामा नवराज अर्यालले झुठ बोलेको देखियो, के गर्ने छलफल गर्दैछौं: ऋषि धमला
काठमाडौं, २८ कात्तिक। आफूलाई निर्मला हत्या प्रकरणको प्रत्यक्षदर्शी भनेर अन्तर्वार्ता दिने नवराज अर्यालको दाबी गलत देखिएको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पत्रकार ऋषि धमलासँग सोधपुछ गरेको छ ।
लाजिम्पाटस्थित सीआईबीमा पुगेर धमलाले आफूलाई अर्यालले एक महिनादेखि अन्तरर्वार्ता लिइदिन भनेको बताएका छन् ।
‘उनी अन्तरर्वार्ता लिइदिनु भन्दै एक महिनासम्म धाएका थिए, अझ रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्छु भनेका थिए, उनी टेलिभिजनमा पनि नियमित आए, त्यसक्रममा मन्त्रीहरुको ड्राइभर भएको नाताले कुराकानी सुरु गर्यौं, उनले पीडित भएँ भने।’ धमलाले भने ।
त्यसक्रममा पीडा के हो भन्नेबाट कुराकानी सुरु गर्दा पछि उनले निर्मला हत्या प्रकरणको समेत कुरा गरेको उनले बताए ।
प्रहरीले अनुसन्धानबाट समेत अहिले नवराज अर्यालले भनेको बयान मिलेको नदेखिएको भन्दै उनले भने, ‘उनले किन झुठो बोले र अब के गर्नेभन्नेमा छलफल गरिरहेका छौं ।’
सीआईबीले अन्तर्वार्ता दिने नवराज अर्याललाई भने पक्राउ गरेको छ । उनले कसैको उक्साहटमा त्यस्तो बयान दिए कि अरु के कारण थियो भन्नेबारे अनुसन्धान अघि बढाइएको एसपी बोगटीले जानकारी दिए ।